काठमाडौँ – गृहमन्त्रीको निर्देशनमा अन्तर्जातीय विवाह गर्ने जोडीमाथि अत्याचार भएको समाचारमा गृहमन्त्रालयले ध्यानाकर्षण भएको जनाएको छ।
नयाँ पत्रिका दैनिकमा माघ २२ गते आएको उक्त समाचारप्रति गृहले जिम्मेवार सञ्चारमाध्यमबाट भ्रामक र कपोकल्पित सामग्री प्रकाशन भएको भन्दै दुःख व्यक्त गरेको हो ।
‘अन्तर्जातीय विवाह गर्ने दलित युवामाथि गृहमन्त्रीकै निर्देशनमा अत्याचार’ शीर्षकमा समाचार आएपछि गृहको हिजो नै एक विज्ञप्ति जारी गरेको थियो। विज्ञप्तिमा लेखिएको छ-समाजमा छुवाछुत र जातीय विभेद बढाउने संविधान र कानूनप्रदत्त नागरिकका अधिकारहरूको उपभोगमा अवरोध पुन्याउने कुनै पनि क्रियाकलापलाई कानूनको दायरामा ल्याउने कुरामा गृह मन्त्रालय प्रतिबद्ध छ । राज्यका निकायहरूले आ(आफ्नो तोकिएको क्षेत्राधिकार भित्र रही सम्पादन गरेका र यस मन्त्रालय एवं माननीय मन्त्रीज्यूलाई सामान्य जानकारी समेत नभएको विषयमा समाजमा भ्रम फैलाउने गरी जिम्मेवार सञ्चार माध्यममा भ्रामक र कपोलकल्पित समाचार प्रकाशन भएकोप्रति मन्त्रालय दुःख व्यक्त गर्दछ ।
उक्त समाचारमा भएका विषयको यथार्थ सार्वजनिक गर्न र आवश्यक भए थप छानबिन गर्न मन्त्रालयले प्रहरी महानिरीक्षकलाई निर्देशनसमेत दिएको छ।
सर्लाहीको बरहथवा नगरपालिका– ४ का सत्येन्द्रकुमार राम (चमार) र बरहथवा– ५ की नेहा रौनियारलाई अन्तरजातीय प्रेमविवाह गरेकै कारण गृहमन्त्रीकै निर्देशनमा ज्यादती भएको र प्रहरी शक्तिको चरम दुरुपयोग गरिएको समाचारमा जनाइएको थियो।


