काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेको सांसद पद फुकुवाका फलोअप गर्ने निर्णय गरेको छ।
फलोअपका लागि सभामुखको पुनः ध्यानाकर्षण गराउने निर्णय भएको रास्वपा संसदीय दलकी सचेतक निशा डाँगीले जानकारी दिइन्।
संसदीय दलको कार्यालय सिंहदरबारमा बुधबार बसेको बैठकले विधेयक अध्ययनका लागि सांसद चन्दा कार्कीको नेतृत्वमा समिति गठन गर्ने निर्णयसमेत गरेको छ।
समितिमा सांसद सोबिता गौतम र शिशिर खनाल सदस्य छन्। बैठकमा प्रमुख सचेतक सन्तोष परियार र सचेतक डाँगी पनि उपस्थित रहनेछन्।
बैठकले ताप्लेजुङको पाथीभरामा केबलकार निर्माणमा देखिएको द्वन्द्व यथाशीघ्र अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराएको छ।
रास्वपाले संसदीय दलको आन्तरिक क्यालेन्डर पनि बनाउने भएको छ। संवैधानिक आयोगसँग निरन्तर छलफल गर्ने निर्णय पनि भएको डाँगीले बताइन्।
यसअघि संसदको हिँउदे अधिवेशन सुरु हुने दिन माघ १८ गते लामिछानेले आफ्नो सांसद पद निलम्बनको निर्णय फिर्ता लिन माग गर्दै सभामुख देवराज घिमिरेलाई निवेदन गरेका थिए।
सिंहदवारमा सभामुखसँग भेटी उनले आफूलाई निलम्बन गर्ने प्रक्रिया नमिलेको भन्दै फुकुवाको माग गरेका थिए।
सभामुखको कार्यकक्षमा रास्वापाका सांसदलाई लिएर पुगेका रविले ‘सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा २७ बमोजिम आफूलाई गरिएको निलम्बल कानुनसम्मत नभएको जिकिर गरेका थिए।
जवाफमा सभामुख घिमिरेले आफूले विद्यमान कानुन, संसद नियमावली र अभ्यास बमोजिम निलम्बनको निर्णय गरेको बताएका थिए।
‘कसैको दबाब, प्रभाव, पूर्वाग्रह र पक्षधरताका आधारमा होइन। हिजो यस पदमा अरु कोही थियो। आज म छु। भोलि अरु कोही हुन सक्छ। तर पदमा रहँदा कानूनको परिपालना गर्नु मेरो दायित्व हो,’ घिमिरेले लामिछानेलाई भने, ‘तपाईंहरूले निवेदन दिनुभएको छ। यो छलफल र परामर्शको विषय हो। आजलाई समय भएन। हामी संसद सुरु हुने अन्तिम समयमा छौँ।’
कास्की जिल्ला अदालतमा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता भएपछि लामिछानेको सांसद पद पुस ७ गतेदेखि स्वत: निलम्बनमा परेको थियो।
त्यसको सूचना संसद सचिवालयले माघ ८ गते प्रकाशित गरेको थियो।


