काठमाडौँ – नेकपा माओवादी केन्द्रका नेता रामप्रसाद सापकोटाले नेकपा एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ लाई आजीवन कारावास हाल्न सरकारसँग आग्रह गरेका छन्।
बिहीबार अछाम पुगेर ‘जनयुद्ध हिंसा नै थियो’ भन्ने अभिव्यक्ति दिएका थापालाई सरकारले तुरुन्त गिरफ्तार गरी आजीवन कारावास हाल्नुपर्ने सापकोटाले फेसबुकमा लेखेका हुन्।
‘माओवादीका पूर्वनेता रामबहादुर थापा जनयुद्धलाई हिंसा भनेका हुन् भने सरकार र प्रधानमन्त्रीलाई मेरो अनुरोध छ, तुरुन्त गिरफ्तार गरी आजीवन काराबास हालियोस्,’ उनले शुक्रबार फेसबुकमा लेखेका छन्।
‘किनभने उनले भनेको हिंसा उनी आफैँ पत्यक्ष संलग्न भएर गरेका हुन्। हामीले त जनयुद्ध गरेका हौँ। त्यो न्याय र परिवर्तनका लागि वर्ग संघर्ष थियो।’ उनले लेखेका छन्।


