काठमाडौँ – उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले काम गर्नेहरूलाई हावादारी गफ गर्नेहरूसँग तुलना गर्न नमिल्ने बताएका छन्।
शुक्रबार आफ्नाे निर्वाचन क्षेत्र काठमाडौं-१ अन्तर्गत काठमाडौं महानगरपालिका वडा नं २९ को वडा कार्यालयको भवन उद्घाटन गर्दै उनले भने, ‘संविधान जारी गरेको कुरा यो केही होइन भनेर भन्छन्। के गर्दा ठूलो कुरा हुने यहाँ ? काम गर्नेहरूलाई त्यसै हावादारी गफ गर्नेहरूसँग तुलना गरेर हुन्छ ?’
होहल्ला गर्ने पछाडिको नियत के हो त्यो पनि बुझ्नुपर्ने उनले बताए । ‘होहल्ला गर्नेको पृष्ठभूमि कसैले नबुझ्ने। विदेशमा कति हजार डलर कमाइराको छोडेर आको भनेर भन्छन्। छोडेर आएको कि केही काण्ड भएर फर्केर आएको हो ? त्यो पनि बुझ्नुपर्यो नि,’ उनको भनाइ रास्वपा सभापति रवि लामिछानेलक्षित थियो।
उपप्रधानमन्त्री सिंहले राजनीति गर्न चरित्र नचाहिने हो भन्दै प्रश्न पनि गरे। राजनीतिमा लागेर सेवा गर्ने र ठगी खानेहरूको ठण्डा दिमागले लेखाजोखा गर्न पनि उनले आग्रह गरे।
स्थायित्व दिन कांग्रेस एमालेको सरकार
सरकार स्थिर होस् भन्ने चाहनाअनुसार कांग्रेस एमाले मिलेर सरकार बनेको पनि उपप्रधानमन्त्री सिंहले बताए। साथै अर्थतन्त्र चलायमान बनाउँदै लयमा ल्याउनका लागि अध्यादेश ल्याइएको उनले दाबी गरे।
त्यस्तै, फरक सन्दर्भमा उनले सार्वजनिक जग्गा जनताका लागि हुनुपर्ने र स्थानीयले उपभोग गर्न पाउनुपर्ने पनि बताए। सरकारले त्यसका लागि काम गरिरहेको र नागरिक तहबाट सरकारलाई साथ दिन पनि सिंहले आग्रह गरे।


