काठमाडौँ – उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल नेसनल अस्पतालको डायलासिस सेवा शुभारम्भ गर्दै मिर्गौलाका रोगीहरूको संख्या बढिरहेको बताएका छन्।
शुक्रबार डायलासिस सेवाको शुभारम्भ गर्दै अर्थमन्त्रीसमेत रहेका उपप्रधानमन्त्री पौडेलले मिर्गौला रोगी बढ्नुको कारण स्वस्थ खानपानको अभाव र प्रदूषणलगायत भएको पनि बताए । साथै यसले चुनौती थपिरहेको पनि उनको भनाइ थियो।
मिर्गौला रोगीहरू बढिरहँदा नेपाल नेसनल अस्पतालले डायलासिस सेवा शुभारम्भ गर्नु सुखद् रहेको पनि बताए। सरकारले गरिरहेका प्रयासहरूमा निजी क्षेत्रबाट पनि मद्दत मिल्नु सकारात्मक भएको उनको भनाइ थियो।
कार्यक्रममा उक्त अस्पतालका आईसीयु विज्ञ तथा निर्देशक डा. प्रकाश पौड्यालले नेपालमा अहिले मिर्गौला रोगीको अवस्था भयावह रहेको बताए। हरेक १६ जना वयस्क व्यक्तिमध्ये एकमा मिर्गौलाको समस्या रहेको उनको भनाइ थियो।


