काठमाडौँ – कानुन व्यवसायीको अनुगमन र नियमन गर्ने संस्था नेपाल कानुन व्यवसायी परिषद्को बागमती प्रदेश पार्षदमा वरिष्ठ अधिवक्ता रविनारायण खनाल विजयी भएका छन्।
परिषद्को बागमती प्रदेशको पार्षदका लागि प्रगतिशील, पेसागत, देशभक्त र समावेशी समूहका साझा उम्मेदवार वरिष्ठ अधिवक्ता खनालले दुई हजार चार सय ४९ मत ल्याएर विजयी भएका बागमती प्रदेशको निर्वाचन समन्वय समितिका प्रमुख वरिष्ठ अधिवक्ता उषा मल्ल पाठकले जानकारी दिइन्। यसै पदका अर्का उम्मेदवार नेपाल डेमोक्रेटिक लयर्स एशोसिएसनका वरिष्ठ अधिवक्ता पर्शुराम कोइरालाले भने एक हजार आठ सय ४२ मत प्राप्त गरे।
त्यस्तै, कोशी प्रदेश पार्षदमा राजु ढकाल, मधेशमा सञ्जीवकुमार मल्लिक, गण्डकीमा दयाराम गौतम, लुम्बिनीमा ईश्वरीप्रसाद ज्ञवाली, कर्णालीमा मातृकाप्रसाद खनाल र सुदूरपश्चिम प्रदेशमा टेकबहादुर कठायत विजयी भएका छन्।
सातै प्रदेशमा शनिबार मतदान भएको थियो । परिषद्को ऐन, २०५० मा प्रत्येक प्रदेशमा कानुन व्यवसाय गर्ने वरिष्ठ तथा अधिवक्ताहरूको निर्वाचनमण्डलबाट एक जनाका हिसाबले सात प्रदेशबाट प्रतिनिधित्व गर्ने पार्षदहरूको चयन गर्नुपर्ने व्यवस्था छ। सोहीअनुसार परिषद्को पार्षदको निर्वाचन भएको हो । सातै प्रदेशमा एक–एक परिषद्को पार्षद छान्न देशभर ११ हजार मतदाता रहेका थिए।
महान्यायाधिवक्ताको अध्यक्षतामा रहने कानुन व्यवसायी परिषद्को उपाध्यक्षमा नेपाल बार एशोसिएसनको निर्वाचित अध्यक्ष, सर्वोच्च अदालतको रजिष्ट्रार, त्रिभुवन विश्वविद्यालयको डिनसहित सात प्रदेशबाट सात पार्षद् चयन हुन्छन् । परिषद्काे पार्षदको पदावधि पाँच वर्षको हुने छ ।


