काठमाडौँ- पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले वर्तमान सरकार संविधान विपरीत भएको जिकिर गरेका छन्। संविधान निगरानी समूह र आईएसएसआरले आयोजना गरेको संविधान कार्यान्वयनको एक दशक र संवैधानिक सुधारको आवश्यकता विषयक संवाद कार्यक्रममा सम्बोधन गर्दै प्रचण्डले यस्तो जिकिर गरेका हुन्।
‘नेपाली कांग्रेस र नेकपा एमाले मिलेर बनेको केपी शर्मा ओलीजीको नेतृत्वमा बनेको यो सरकार संविधान विपरीत छ,’ उनले भने।
संविधानको धारा ७६ (२) अनुसार आफू प्रधानमन्त्री बनेको र त्यो सरकार ढलेपछि धारा ७६ (३)मा जानुपर्ने तर एमाले र कांग्रेसले राष्ट्रपतिलाई दबाब दिएर धारा ७६ (२) अनुसार नै ओली प्रधानमन्त्री बनेकाले उनको सरकार असंवैधानिक भएको जिकिर गरेका हुन्।
प्रचण्डले ओली सरकार अलोकतान्त्रिक पनि भएको जिकिर गरे। लोकतन्त्रमा दुई ठूला दल मिलेर सरकार बनाउने अभ्यास नभएको तर कांग्रेस र एमालेले मिलेर सरकार बनाएकाले अलोकतान्त्रिक भएको दाहालको तर्क छ।
‘यो सरकार लोकतन्त्रको मर्म विपरीत र संविधानको मर्म विपरीत पनि छ,’ उनले थपे, ‘आफूले गरेको संविधान विपरीतको कामलाई ढाकछोप गर्न दुई दलले संविधान नै संशोधन गर्ने सहमति गरेका हुन्। लोकतन्त्रमा पहिलो र दोस्रो पार्टी रातको अँध्यारामा मिल्न पनि पर्दैन। जनतामा भ्रम पैदा गर्न दुई दल मिलेका हुन् संविधान संशोधनको सैद्धान्तिक जामा पहिर्याएर उहाँहरुले गरेको चाहिँ प्रधानमन्त्रीको पद हो।’
ठूला दलले कुरा नबुझे अब जनता पर्खेर नबस्ने उनको भनाइ थियो। त्यसका लागि ठूला भनिएका दुई दलले विचार गर्न जरुरी भएको उनले बताए।
शान्ति प्रक्रियाका काम टुंगो लगाउन, संविधानमाथिको आक्रमण पनि भइरहेकाले शान्ति प्रक्रियामा भूमिका खेलेका दलहरू एकजुट हुनुपर्ने उनको भनाइ थियो।


