काठमाडौँ- अन्तरजातीय विवाह बन्धनमा बाँधिएका सर्लाहीको बरहथवा निवासी सत्येन्द्र राम चमार र नेहा रौनियार आज बरहथवास्थित घर फर्किएका छन्।
सत्येन्द्र नेहालाई लिएर बुवा इन्दल र आमा गीतादेवीसँगै आज बरहथवा १० कटानीस्थित घर फर्किएका हुन्।
चमार परिवारको घर केही समयदेखि सुनसान थियो। सत्येन्द्रले अन्तरजातिय विवाह गरेको र सो जोडीलाई छुटाउन सरकारका गृहमन्त्री रमेश लेखक र प्रहरीका अधिकारी नै लागेको भन्ने आरोप लागेको छ।
सोहीक्रममा सत्येन्द्र र नेहा बुवाआमासँगै काठमाडौँबाट गाउँ आइपुगेका हुन्। उनीहरुलाई आज दिउँसो सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरे, प्रहरी उपरीक्षक (एसपी) रवीन्द्रबहादुर सिंह, सशस्त्र प्रहरी उपरीक्षक (एसपी) विनोदराज खनाल, राष्ट्रिय अनुसन्धानका डिएसपी रामरिझन यादवले घरमै पुगेर भेट गरेका हुन्।
सुरक्षा अधिकारीले सत्येन्द्रको परिवारलाई ढुक्कसँग बसोवास गर्न आग्रह गर्दै फर्किएका छन्। एक प्रहरी अधिकारीले उक्त परिवारलाई आवश्यक सुरक्षा प्रबन्ध मिलाइएको उल्लेख गरेका छन्।
भेटमा सत्येन्द्रको परिवारले अदालतमा अहिले पनि मुद्दा चलिरहेकाले यस विषयमा अनावश्यक प्रचारप्रसार नगरिदिन र स्वतन्त्रतापूर्वक जिउन पाउने वातावरण कायम गरिदिन आफूहरुसँग आग्रह गरेका ती सुरक्षा अधिकारीको भनाइ रहेको छ।


