बाग्लुङ – सेवाग्राही परिचयपत्र लिन नआएपछि जिल्ला प्रशासन कार्यालय बाग्लुङमा १५ हजार आठ सय ३८ राष्ट्रिय परिचयपत्र थन्किएका छन्।
राष्ट्रिय परिचयपत्रको फारम भरेर धेरैजसाे व्यक्ति विदेशिएका कारण परिचयपत्र लिन नआएका कार्यालयका प्रशासन शाखा प्रमुख रामप्रसाद उपाध्यायले जानकारी दिए । उनले नयाँ परिचयपत्रका लागि दैनिक दुई सय जनासम्म सेवाग्राही आउने भए पनि तयारी अवस्थामा रहेका परिचयपत्र लिन भने न्यून मात्र आउने गरेको बताए।
जिल्ला प्रशासनमा अहिलेसम्म २८ हजार आठ सय ८५ राष्ट्रिय परिचयपत्र तयार भएर आइसकेका छन्। शाखा अधिकृत उपाध्यायका अनुसार तीमध्ये जम्मा १३ हजार ४७ परिचयपत्र मात्र सेवाग्राहीले लगेका छन् भने १५ हजारभन्दा धेरै परिचयपत्र प्रशासनमै रहेका छन्।
परिचयपत्र लिनका लागि स्वयम् व्यक्ति नै आउनुपर्ने र पुनः बायोमेट्रिक गर्नुपर्ने भएकाले परिचयपत्र वितरणको सङ्ख्या न्यून भएको हो।
राष्ट्रिय परिचयपत्रविरुद्धको रिट सर्वोच्च अदालतले खारेजी गरेपछि सरकारले तोकेका हरेक कामका लागि अब राष्ट्रिय परिचयपत्र अनिवार्य भएको छ। चिपसहितको एउटै डिजिटल कार्डमा नागरिकका सबैखाले विवरण समावेश गरिने भएकाले नागरिकता, चालक अनुमतिपत्र (लाइसेन्स), फोटोसहितको मतदाता परिचयपत्र र जग्गाधनी पुर्जाजस्ता सामग्री बोकेर हिँड्ने झन्झट हुँदैन।
राष्ट्रिय परिचयपत्रमा व्यक्तिको जन्मदेखि मृत्युसम्म दर्ता हुने व्यक्तिगत घटनाको विवरण पनि समावेश हुन्छ।


