काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले कर्मचारीहरूले राजनीतिक विचार बोक्न नहुने र संगठन हुनै नहुने भन्ने विचार टुप्पाबाट पलाएकाहरूले गर्ने गरेको बताएका छन्।
निजामती कर्मचारी संगठनको १२ औँ महाधिवेशनको उद्घाटन सत्रलाई बुधबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो टिप्पणी गरेका हुन्।
‘कर्मचारीहरूको संगठन हुनु हुँदैन। कर्मचारीहरूले राजनीतिक विचार बोक्नु हुँदैन। कर्मचारी भनेको विचार शून्य हुनुपर्छ भन्ने विचार आज मात्र आएको होइन’, प्रधानमन्त्री ओलीले भने, ‘यी कुरा राजनीति साजनीति नगरेका, आन्दोलन नदेखेका, टुप्पाबाट पलाएकाहरूले मात्रै उठाउने हो।’
कर्मचारीविरुद्ध हमला पहिलादेखि हुँदै आएको भन्दै दल वा व्यक्ति हेरेर नभई निष्पक्ष ढंगले कर्मचारीले सेवा दिनुपर्ने प्रधानमन्त्रीको भनाइ छ।
