काठमाडौँ- काठमाडौँ महानगरपालिका ३३ वटा सामुदायिक र निजी विद्यालय र ३ वटा अस्पतालमा गरी ३६ वटा क्षेत्रमा अन डिमान्ड पेडेष्ट्रियन क्रसिङ् (पेलिकन) प्रणाली जडान गरिएको छ।
जेब्रा क्रसतिर हरियो र सवारी गुड्नेतर्फको सडकमा रातो बत्ती बालेर पैदल यात्रीले सडक पार गर्ने प्रणाली हो। यो प्रणालीलाई पहिले बबरमहलमा परीक्षण गरिएको थियो। यसबाट सकारात्मक नतिजा प्राप्त भएपछि ३६ स्थानमा राख्ने योजना बनेको हो।
यसबाट पैदल यात्रा सुरक्षामा नयाँ आयाम थपिएको हाम्रो बुझाई छ। पैदलयात्रीले स्विच थिचेपछिको कम्तीमा ६० सेकेन्ड पछि जेब्रा क्रसतर्फ हरियो र सवारी गुड्नेतर्फ रातो बत्ती बल्छ।
एक पटक थिचेपछि सडकको चौडाइ र पैदल यात्रीको चाप अनुसार ८ देखि २० सेकेन्ड हरियो बत्ती बल्छ जुन विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय गाइडलाइनबाट गाइडेड छ।
पहिलो पैदल यात्रीको हरियो बत्ती बलेको अवधि सकिएपछिको पुन १ देखि २ मिनेटमा मात्र पैदलयात्रीले अर्को पटकको लागि क्रस गर्न सक्छन्। अर्थात्, १ देखि २ मिनेटपछि मात्र जेब्रा क्रसतर्फ फेरि हरियो बत्ती बाल्न सकिन्छ।
ट्राफिक प्रहरीको ५ बर्से तथ्याङ्क विश्लेषण गरी पैदलयात्रीको चाप भएका र दुर्घटना जोखिम भएका स्थानमा पेलिकन प्रणाली कार्यान्वयन गरिएको हो।
सवारी साधन रोकिएको यकिन भएपछि मात्र सडक पार गर्न महानगरले सबैमा अनुरोध गरेको छ।


