काठमाडौँ – नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले नेकपा एकीकृत समाजवादीसँग पार्टी एकता हुन सक्ने बताएका छन् ।
३०औं जनयुद्ध दिवसका अवसरमा बिहीबार खोटाङ सदरमुकाम दिक्तेलमा आयोजित कार्यक्रममा पुनले समाजवादीसँग आफूहरूको कार्यदिशामा समानता रहेको बताए ।
यस्तै मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, नेत्रविक्रम चन्द नेतृत्वको नेकपासहित माओवादी धारका सबै घटकसँग पनि सहकार्य र एकताको नीतिमा आफूहरू रहेको उनको भनाइ थियो।
‘एकीकृत समाजवादीसँग हाम्रो कार्यनीतिक रूपमा धेरै कुरा मिल्छ, ढिलोछिटो हामी एकै ठाउँमा हुने सम्भावना छ’, उनले भने, ‘युद्ध गर्ने होइन, शान्तिपूर्ण प्रतिस्पर्धाबाटै जान तयार भए वैद्यजी, विप्लवजीहरूसँग पनि एकता हुन्छ । हिजो सँगै लडेका र जनयुद्धको विरासत बोकेका सबै समूहसँग एकताका लागि हामी खुला छौं ।’
उनले आफ्ना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको परिपरि कम्युनिष्ट ध्रुवीकरणको प्रक्रिया अघि बढिसकेको दाबी गरे । पुनले आगामी ०८४ को स्थानीय तह, प्रदेश र संघीय निर्वाचनमा कसैसँग पनि तालमेल नहुने भन्दै अहिल्यैदेखि तयारीमा लाग्न नेता कार्यकर्तालाई निर्देशन दिए ।
