धुर्कोट – पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशमा खाद्यान्न आयात गर्नुपर्ने अवस्था दुःखद भएको बताएका छन्।
बिहीबार गुल्मीको धुर्कोट गाउपालिकामा शहिद शमसेर स्मृति पार्कको उद्घाटन गर्दै प्रचण्डले यो नेपालका लागि चुनौतीको विषय भएको बताए।
‘हाम्रा बा बाजेहरू, हाम्रा आमाहरूले जसरी खेतीपाती गर्थें, हामी खाद्यान्न आयात गर्नु पर्दैन थियो, बरु खाद्यान्न निर्यात गर्थ्यौँ, विदेशमा त्यसबाट राम्रो आय आर्जन हुन्थ्यो’, उनले भने, ‘अहिले ५०-६० वर्ष विकासका ठूल्ठूला कुरा गरे पनि हामी खाद्यान्न आयात गर्नुपर्ने अवस्थामा पुगेका छौं, यो हामी सबैको निम्ति बडो दुःखद् कुरा र बडो चुनौतीको कुरा हो ।’
त्यसकारण एक पटक सबै फर्केर आत्मनिर्भरता तिर, स्थानीय तहबाट नै उत्पादन वृद्धि, देशभक्तिपूर्ण शिक्षातिर लाग्नुपर्ने उनको भनाइ थियो । ‘नेपालमा धेरै चिज छ, तराई, पहाड, हिमाल, हाम्रो जल, जमिन, जडिबुटी हामीकहाँ धेरै चिज छन्’, उनले भने, ‘तर एउटा संकल्प, एउटा मानसिकताको विकास, देशप्रति प्रेम, आफ्नै जमिन र आफ्नै माटोबाट उत्पादन वृद्धि गर्ने संकल्पको आवश्यकता छ ।’
प्रचण्डले सुशासन, सामाजिक न्याय र आर्थिक विकास आजको राष्ट्रिय आवश्यकता भएको बताए । भ्रष्टाचारले देशको समग्र संरचना नै क्षतविक्षत भएको टिठलाग्दो अवस्था रहेको उनको भनाइ थियो।
अध्यक्ष प्रचण्डले अमेरिकाबाट आप्रवासीहरू देशबाट निकाल्ने र मध्यपूर्वमा बेला बेलामा युद्ध भड्किने र त्यहाँ गएका लाखौं नेपाली नेपाल फर्किनुपर्ने बाध्यता आउन पनि सक्ने बताए । जसका कारण देशभित्र आर्थिक समृद्धिका लागि राम्रो तयारी गर्नुपर्ने उनको भनाइ थियो।
‘हामीले देशभित्र राम्रो तयारी गरेनौं र हामीले उत्पादन र उत्पादकत्व वृद्धि गरेर आत्मनिर्भर हुने दिशातिर राम्रो तयारी गरेनौं भने कुनै पनि बेला ठूलो अप्ठ्यारोमा देश पर्न सक्छ’, उनले भने।


