काठमाडौँ – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले विधि मिचेर सरकारले अध्यादेश ल्याएकाले समर्थन गर्न नसकिने बताएका छन्।
पार्टीको बागमती प्रदेशको प्रथम अधिवेशनलाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष नेपालले संसदको अधिवेशन बोलाउने बेला, संसदीय समितिमा विचाराधीन विधेयकलाई मिचेर अध्यादेश ल्याइएको भन्दै समर्थन गर्न नसकिने स्पष्ट पारे।
सरकारले हतारहतार अध्यादेश ल्याएको उनको आरोप छ। अध्यादेशमध्ये भूमिसम्बन्धी अध्यादेश आपत्तिपूर्ण रहेको उनले बताए।
अध्यक्ष नेपालले सरकारले गलत नियत राखेर सामाजिक सञ्जालसम्बन्धी विधेयक अघि सारेको जिकिर गरे।
विधेयक पारित भए अनलाइन सञ्चारमाध्यमले कसैको विरोधमा समाचार लेख्न अवस्था नहुने उनको भनाइ थियाे । त्यस्तै अध्यक्ष नेपालले जनतामाझ गएर जनताका मुद्दालाई उठान गर्न कार्यकर्तालाई निर्देशन पनि दिए।
