काठमाडौँ – बेलुन विस्फोटमा परी घाइते भएका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई कीर्तिपुरस्थित बर्न अस्पतालमा भेटेर फर्किएपछि नेपाली कांग्रेसका नेता तथा सांसद डा. चन्द्र भण्डारीले भावुक स्टाटस लेखेका छन्।
घाइते दुवैलाई भेट्न भण्डारी हिजै अस्पताल पुगेका थिए ।
अस्पतालमा घाइतेहरूलाई भेटेर फर्किएका नेता भण्डारीले आफ्नो विगतको ग्यास सिलिन्डर विस्फोटको दुर्घटना सम्झिँदै फेसबुकमा जीवन आगो र पुनर्जन्म शीर्षकमा स्ट्याटस लेखेका हुन् ।
स्ट्याटसमा लेखिएको छ- दुई वर्षअघि आजकै दिन, आगोको क्रूर लप्काले मेरी आमालाई चीर निद्रामा लग्यो। त्यो क्षणले मात्र शरीर जलाएको थिएन, आत्मा नै भस्म भएको महसुस गराएको थियो। म आफैँ पनि जलेँ—शारीरिक रूपमा, भावनात्मक रूपमा।
आजभन्दा दुई वर्षअघि अर्थात् २०७९ फागुन ४ गते नेता भण्डारीको निवासमा ग्यास सिलिन्डर विस्फोट हुँदा उनी गम्भीर घाइते भएका थिए भने उक्त दुर्घटनामा उनकी आमाको निधन भएको थियो। उनले उक्त दुर्घटना सम्झिँदै लेखेका छन् -समय एक अचम्मको उपचार रहेछ। जलेका घाउहरू बिस्तारै निको हुँदै छन्, म फेरि बाँच्न सिक्दै छु। तर आजैको दिन, जलनकै कारण माननीय उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौड्यालज्यू र पोखरा महानगर प्रमुख धनराज आचार्यज्यू अस्वस्थ हुनु भएको खबरले मन फेरि भारी बनाएको छ। प्राडा शंकर राई र डा। किरण नकर्मीसँग तत्काल कीर्तिपुर अस्पताल पुगेर उहाँहरूको अवस्थाबारे जानकारी लिँदा, डाक्टर शावहरूले उहाँहरू खतरामुक्त हुनु भएको खबर दिनु भयो। यसले केही राहत महसुस गराएको छ।’
