काठमाडौँ- भारत उडिसाको भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्रा आइतबार मृत अवस्थामा भेटिएकी छन्।
‘बी टेक’ तेस्रो वर्षमा अध्ययनरत नेपालको रुपन्देहीकी छात्रा प्रकृति लम्साल मृत भेटिएपछि नेपाली विद्यार्थीले छानबिनको माग गर्दै प्रदर्शन गरेका छन्। नेपाली विद्यार्थीहरूले दोषीलाई तत्काल पक्राउ गर्नुपर्ने मागसहित क्याम्पसको मुख्य गेट अवरुद्ध गर्दै प्रदर्शनमा उत्रिएपछि उनीहरूलाई घर पठाइएको छ।
विश्वविद्यालयको छात्रावासमा पाँच सयभन्दा बढी नेपाली विद्यार्थीलाई होस्टेलबाट जर्बरजस्ती उठाएर रेल स्टेसनमा लागि छोडिएको छ। विश्वविद्यालयमा दुई हजारभन्दा बढी नेपाली विद्यार्थी अध्ययनरत रहेको र उनीहरूलाई घर जान प्रशासनले निर्देशन दिएको छ। आगामी चैत दोस्रो सातादेखि परीक्षा तालिका रहे पनि विश्वविद्यालयले कहिले फर्किने भन्ने विषयमा जानकारी दिएको छैन।
मृतक विद्यार्थी मेकानिकल इन्जिनियरिङका विद्यार्थीसँग प्रेम सम्बन्ध रहेको र ब्रेकअपपछि मानसिक तनाव दिएको उल्लेख गरिएको सुसाइड नोट र फोन समेत फेला परेको छ।
अहिले विश्वविद्यालय परिसरको स्थिति सामान्य रहेको र शवलाई पोस्टमोर्टमका लागि पठाइएको प्रहरीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन्। मृतक विद्यार्थीका अभिभावकलाई भुवनेश्वर बोलाइएको प्रहरीले जनाइएको छ।
भुवनेश्वरका डीसीपी पिनाक मिश्राका अनुसार आत्महत्या दुरुत्साहन मुद्दामा एक छात्रलाई नियन्त्रणमा लिइएको छ। ती छात्रसँग सोधपुछ भइरहेको प्रहरीले जनाएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार सोमबार नेपाली विद्यार्थीलाई बोकेको दुई वटा बस कटक रेलवे स्टेशनमा पुगेको छ। त्यहाँबाट ती विद्यार्थीलाई नेपालतर्फ पठाइने जनाइएको छ।
यसैबीच प्रधानमन्त्री केपी शर्मा ओली भारतमा नेपाली विद्यार्थीको मृत्युबारे कूटनीतिक तवरले बुझिरहेको बताएका छन्। सोमबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले नेपाली विद्यार्थीको मृत्युबारे सरकारले कूटनीतिक तवरले बुझ्दै सम्पर्कमा रहेर काम गरिरहेको बताएका हुन्।
‘भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयको होस्टेलमा एकजना नेपाली छात्राको मृत्यु भएको र नेपाली विद्यार्थीलाई होस्टेलबाट जबरजस्ती निकालेको कुरा मिडिया र सामाजिक सञ्जाल मार्फत जानकारीमा आएको छ,’ प्रधानमन्त्री ओलीले फेसबकुमा लेखेका छन्, ‘यस विषयमा सरकारले कूटनीतिक तवरले बुझ्दै सम्पर्कमा रहेर काम गरिरहेको छ।’


