टोरन्टो- क्यानडाको टोरन्टो पियर्सन विमानस्थलमा भएको विमान दुर्घटनामा सबै दुर्घटनामा एक बालक र दुई वयस्क गम्भीर घाइते भएको ग्रेटर टोरन्टो विमानस्थल प्राधिकरणकी प्रमुख कार्यकारी अधिकृत डेबोरा फ्लिन्टले जानकारी दिएकी छन्। १८ जना यात्रुलाई अस्पताल लगिएको छ।
मंगलबार ७६ यात्रु र ४ चालक दलका सदस्यसहित ८० जना सवार विमान दुर्घटनामा परेको तर सबै व्यक्तिको जीवितै उद्धार भएको उनले जानकारी दिएकी हुन्।
‘हामी धेरै खुसी छौं कि कुनै पनि यात्रुको मृत्यु भएन। दुर्घटनाको तुलनामा यात्रुहरूलाई भएको चोटपटक सामान्य थियो,’ उनले भने। डेल्टा एयरलाइन्सको विमान मिनियापोलिसबाट आउँदै थियो।
अमेरिकी संघीय उड्डयन प्रशासनका अनुसार डेल्टा एयर लाइन्सको उडान ४८१९ स्थानीय समय अनुसार दिउँसो २:४५ बजे अवतरणको क्रममा पल्टिएको थियो।
यो विमान डेल्टा एयरलाइन्सको सहायक कम्पनी एन्डेभर एयरद्वारा सञ्चालित छ।
अवतरणको समयमा विमानको पखेटामा रहेका फ्ल्यापहरूले राम्रोसँग काम नगरेकोले विमान पल्टिएको जनाइएको छ।
दुर्घटनाको समयमा टोरन्टोमा ठूलो हिमपात भएको बताएका छन्। क्यानडाको मौसम विज्ञान विभागका अनुसार हावा ६५ किलोमिटर प्रतिघण्टाको गतिमा चलिरहेको थियो।
क्यानडाको यातायात सुरक्षा बोर्डले दुर्घटनाको अनुसन्धान गरिरहेको जनाएको छ। अमेरिकी राष्ट्रिय यातायात सुरक्षा बोर्डले पनि यसमा सहयोग गरिरहेको सञ्चारमाध्यममा उल्लेख छ।
दुर्घटनापछि टोरन्टो विमानस्थलमा २०० भन्दा बढी उडानहरू अस्थायी रूपमा रोकिएका थिए तर केही घण्टामै उडानहरू पुनः सुरु भए।


