काठमाडौँ– सानिमा बैंक लिमिटेड र ब्रिटिस इन्टरनेसनल इन्भेस्टमेन्ट पीएलसीबीच करिब २ अर्ब रुपैयाँ (१५ मिलियन अमेरिकी डलर) व्यापार ऋण सम्झौता भएको छ।
समझदारी पत्रमा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डे र ब्रिटिस इन्टरनेसनल इन्भेस्टमेन्टका लगानी निर्देशक एडमिर इमामीले हस्ताक्षर गरेका छन्।
सम्झौता अनुसार प्राप्त ऋण विशेष गरी जलविद्युत् आयोजना निर्माणमा प्रयोग हुने हाइड्रो मेकानिकल र इलेक्ट्रो मेकानिकल उपकरणहरूको आयात तथा निर्माण प्रक्रियाका लागि कच्चा पदार्थहरूको खरिदमा प्रयोग गरिनेछ।
साझेदारीले सानिमा बैंकको ट्रेड फाइनान्स सर्भिसलाई महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
यस साझेदारीले नेपालको ऊर्जा आवश्यकतालाई सम्बोधन गर्दै दिगो ऊर्जा स्रोतहरू परिचालन गर्न महत्त्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ।
यो प्रयास फोसिल फ्युलमा निर्भरता कम गर्न र जलवायु परिवर्तनसँग लड्न विश्वव्यापी प्रयासहरूमा केन्द्रित छ।
सानिमा बैंकले स्वच्छ ऊर्जा परियोजनाहरूलाई प्रवर्द्धन गरी स्थानीय समुदायका लागि दीर्घकालीन सकारात्मक प्रभावहरू सिर्जना गर्ने दृष्टिकोण राखेको छ।


