काठमाडौँ- अभियन्ता प्रा.डा.गोविन्द केसीको नेतृत्वमा आज अमेरिकी राजदूतावास नजिकै राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले हालै लिएका निर्णयहरूप्रति पुनर्विचारको मागसहित प्रदर्शन भएको छ। उनको नीतिले मानवीय पक्ष नहेरेको डा. केसीको ठहर छ।
डा. केसीसहितका प्रदर्शनकारीले विभिन्न नारा र माग लेखिएका प्लेकार्ड बोकेर काठमाडौंस्थित अमेरिकी दूतावासनजिकै प्रदर्शन गरेका हुन्। ट्रम्प प्रशासनका निर्णयमा पुनर्विचार गर्न ट्रम्प प्रशासन र अमेरिकी नागरिकहरूमा डा.केसीसहितले अनुरोध गरेका छन्।
अमेरिकी राष्ट्रपतिको रूपमा शपथ लिएपछि ट्रम्पले अरू देशलाई दिँदै आएको सहायतामा कटौती गरेका थिए।
यति थोरै मान्छे र यस्तो प्रदर्शनले अमेरिकाले सुन्छ त भन्ने प्रश्नमा केसीको जवाफ छ, ‘प्रजातान्त्रिक दावी गर्ने मुलुकले सही र मानवीय आवाज एक जनाको मात्र भए पनि सुन्नुपर्छ। हामीले मानवीय प्रश्न र उत्तरदायी बन्न सङ्केत गरेका हौँ। मानवीयताको पक्ष भिडमा होइन यसको गुणमा प्रतिबिम्बित हुन्छ।’
