काठमाडौँ- काठमाडौँ महानगरपालिकाका प्रथम मेयर पीएल सिंहको स्मृतिमा विद्यालय स्तरीय स्थलगत चित्रकला प्रतियोगिता आयोजना गरिएको छ। महानगरपालिकाभित्रका विभिन्न विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको थियो।
प्रतियोगितामा मेयर बालेन्द्र शाहलगायत पुगेर विद्यार्थीलाई उत्प्रेरित गरेका थिए। बालसिर्जनाका कार्यक्रमलाई महानगरपालिकाले प्राथमिकता दिएको मेयर बालेनले बताए। बालबालिकाभित्र कुनै न कुनै विलक्षण र विशेष क्षमता हुने र त्यो क्षमता पहिचान गराउन र सक्रिय गराउन सिकाइका यी विधाहरु महत्वपूर्ण हुने उनको भनाइ थियो।
‘कक्षा कोठाभन्दा बाहिर आयोजना गरिने कार्यक्रमले बालबालिकाको शारीरिक, मानसिक, चारित्रिक तथा सामाजिक विकासमा प्रभावकारी भूमिका खेल्छन्,’ राष्ट्रिय प्रजातन्त्र दिवसमा वडा नम्बर २७ ले रानीपोखरी परिसरमा आयोजना गरेको ‘पि. एल. सिंह स्मृति चित्रकला प्रतियोगिता’ को उद्घाटन गर्दै उनले खुला स्थानमा हुने चित्रकला क्रियाकलापको प्रसङ्गमा भने, ‘यो प्रतियोगिता नभइ प्रदर्शनी जस्तो हो। यसमा सबै बालबालिकाको समान सहभागिता हुन्छ। सबैले समान प्राप्तिको महसुस गर्छन्।’
कार्यक्रममा महानगरपालिकाका पहिलो प्रमुख पीएल सिंह सिंहलाई स्थानीय शासनमा दूरदृष्टि राख्ने नेताका रुपमा स्मरण गरेका थिए।
वडाले सिर्जना कलेज अफ फाइन आर्टस्को प्राविधिक सहयोगमा आयोजना गरेको चित्रकलाबाट बालबालिकामा सांस्कृतिक र सिर्जनात्मक चेतना बढाउन आयोजना गरिएको वडाध्यक्ष योगेश खड्गीले धारणा राखेका थिए।
चित्रकलाका निर्णायक सिर्जना कलेअ अफ फाइन आर्टस्का सहायक प्रधानाध्यापक नविन्द्र राजभण्डारीले, सांस्कृतिक ऐतिहासिक स्थानमा आयोजना गरिएको कार्यक्रमले बालबालिकाहरुमा सम्पदा र परम्पराका बारेमा सिर्जनात्मक अभिव्यक्तिका लागि प्रेरित गर्ने बताए।
विद्यालय स्तरीय, ‘हाम्रा सांस्कृतिक सम्पदा’ विषयक स्थलगत चित्रकला प्रतियोगितामा २ सय जना विद्यार्थीहरु सहभागी छन्। यसमा कक्षा १ देखि ३ सम्मका विद्यार्थीहरुलाई समूह ‘क’ मा राखिएको छ। उनीहरुले क्रेयन अन ड्रइङ् पेपरमा चित्र बनाउन दिइएको छ।
कक्षा ४ देखि ६ सम्मका विद्यार्थीहरु समूह ‘ख’ मा छन्। उनीहरुलाई अक्रिलिक कलर अन पेपरमा चित्र बनाउन दिइएको छ। कक्षा ७ देखि १० सम्मका विद्यार्थीहरुलाई समूह ‘ग’ मा राखिएको छ। उनीहरु अक्रिलिक अन क्यान्भास वोर्डमा चित्र कोरिरहेका छन्।
प्रतियोगिताका विजेतामध्ये समूह ‘क’ बाट ३ जनालाई जनही ३ हजार रुपैयाँसहित प्रमाण पत्र, समूह ‘ख’ बाट ३ जनालाई जनही ५ हजार रुपैयाँसहित प्रमाण पत्र र समूह ‘ग’ बाट ३ जनालाई जनही ८ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ।










