इटहरी- कोशी एक्सिलेन्स अवार्ड २०८१ अन्तर्गत शिक्षा विधाको अवार्ड प्राडा टंकप्रसाद न्यौपानेलाई प्रदान गरिएको छ।
बुधवार इटहरीस्थित सोल्टी वेस्टेन्डमा भएको समारोहमा न्यौपानेलाई प्रमुख अतिथिसमेत रहेका कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले वरिष्ठ भाषाविद् न्यौपानेलाई उक्त अवार्ड प्रदान गरेका हुन्।
२००५ माघ ६ गते धनकुटाको चुङ्माङ-३ मा जन्मिएका न्यौपानेले जीवनका पाँच दशक प्राध्यापन पेसामा आबद्ध रहेर देशका विभिन्न क्याम्पसको क्याम्पस प्रमुख भएर काम गरेको अनुभव समेत बटुलेका छन्। न्यौपाने हाल विद्यावारिधिको शोध निर्देशकको रूपमा समेत कार्यरत रहेका छन्।
सुनसरीको धरान-१४ स्थित विजयपुरमा स्थायी बसोबास गर्दै आएका न्यौपानेले कृष्णप्रसाद भट्टराई (किसुनजी) सँग समेत जेलजीवन बिताएका छन्। २०५८ सालमा नै आठपहरिया राईहरूको भाषामा त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधि गरेका न्यौपानेका दर्जनौँ कविता, गीत, निबन्ध, नाटक, समालोचनालगायत प्रकाशित छन्।
जेलजीवनमै रहँदा लेखिएका खण्डकाव्यहरू किसुनजीलाई सुनाउने गरेको समेत उनी बताउँछन्। देशकै प्रतिष्ठित भाषाविद् समेत रहेका न्यौपाने भन्छन्, ‘म त आफूसँग भएको विद्या आफैसँग राख्नुभन्दा अरूलाई बाँड्ने गर्दछु।’
शैक्षिक उन्नयन तथा शिक्षाको सर्वाङ्गीण विकासका निम्ति अविराम रूपमा पुर्याएको भूमिकाको उच्च सम्मान गर्दै शिक्षा विधाको अवार्ड प्रदान गरिएको नयन एड्भरटाइजिङ मिडिया प्रालिका अध्यक्ष पवन अधिकारीले जानकारी दिए।
उक्त मिडिया प्रालिद्वारा सञ्चालित प्रदेश खबर डटकमको दोस्रो वार्षिकोत्सवको अवसरमा कोशी एक्सिलेन्स अवार्डको आयोजना गरिएको हो। जहाँ १३ विद्याका उत्कृष्ट १३ जनालाई अवार्ड प्रदान गरिएको छ। अवार्ड प्राप्त गर्ने व्यक्तिहरूको छनोटका लागि निर्णायक समितिसमेत राखिएको थियो।


