काठमाडौँ – संविधानसभा सदस्य विदुर सापकोटाको निधन भएको छ।
लामो समय नेकपा एमालेमा हुँदै एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य रहेका सापकोटाको राति निधन भएको काभ्रेको मण्डन देउपुर नगरपालिकाका मेयर टोकबहादुर वाइबाले जानकारी दिए।
मृर्गौलासम्बन्धी रोगबाट पीडित ५८ वर्षीय सापकोटाको उपचारका क्रममा आज राति चाबहिलको हेल्पिङ ह्याण्ड अस्पतालमा निधन भएको वाइबाको भनाइ छ।
उनी तत्कालीन पञ्चायती शासनविरुद्ध संघर्ष, मालेकालमा भूमिगत, विद्यार्थी राजनीति मार्फत २०४६ सालको प्रथम जनआन्दोलनमा महत्वपूर्ण भूमिका खेलेका काभ्रेपलाञ्चोकका तत्कालीन नेकपा एमालेको लामो समयसम्म सचिवको जिम्मेवारीमा रहेका थिए। उनी २०७० सालको संविधानसभा सदस्य बनेका थिए ।
पछि नेकपा एमाले विभाजन भई एकीकृत समाजवादीमा रहेको उनी पोलिटब्युरो सदस्य थिए। सापकोटाको पार्थिव शरीर आज बिहान ९ बजेदेखि अन्तिम श्रद्धाञ्जलिका लागि पार्टी कार्यालय आलोकनगरमा राखिने एकीकृत समाजवादीका वरिष्ठ नेता बेदुराम भुसालले जानकारी दिए।
स्वर्गीय सापकोटाको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ। सापकोटाका श्रीमती एक छोरी छन्।
