काठमाडौँ– नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले आगामी महाधिवेशनमा आफू सभापतिको उम्मेदवार रहने कुरा निश्चित भएकाले अरुको तयारीले फरक नपर्ने बताएका छन्।
सुर्खेतमा नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता कोइरालाले १४औँ महाधिवेशनमा शेरबहादुर देउवालाई समर्थन गर्ने नेताहरुको बैठकले आफ्नो अभियानलाई कुनै बाधा नपर्ने बताए।
‘उहाँहरुले हिजो पनि देउवालाई सघाउनुभएको हो। अहिले पनि देउवासँगै छु भनिरहनुभएको छ। त्यसले मलाई फरक पर्दैन। अबको महाधिवेशनमा म सभापतिको उम्मेदवार रहन्छु,’ शेखरले भने।
नेता कोइरालाले पार्टीको महाधिवेशन २०८४ को चुनावपछि गर्ने प्रस्ताव स्वीकार नहुने बताए।
कांग्रेसको विधान अनुसार २०८२ मंसिरमा हुनुपर्ने महाधिवेशन गर्न बाधा परे विधानकै व्यवस्था अनुसार ६ महिना वा वर्षदिन थप्न सकिने तर विधान विपरीत महाधिवेशन ढिलाई गर्न नमिल्ने शेखरको भनाइ छ।
