काठमाडौँ- हनुमानढोकास्थित सानो पशुपतिनाथ मन्दिरअगाडि एक युवक मृत भेटिएको प्रकरणमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ।
हातमा सुजन शाक्य नाम लेखेका ३१ वर्षीय एक युवक आज मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवम् प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए।
‘हातमा सुजन शाक्य नाम लेखिएको छ, उनको सनाखत हुन बाँकी छ,’ उनले भने, ‘दुई जनालाई नियन्त्रणमा लिएर हामीले अनुसन्धान गर्दैछौँ।’
मृतकको शरीरमा चोटपटक देखिएको प्रहरीले जनाएको छ। उनको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसनधानले देखाएको छ।
मृतक व्यक्तिको सनाखत नहुँदा प्रहरीमा जाहेरी परेको छैन।
सीसीटीभी फुटेजको आधारमा शंकास्पद व्यक्ति पहिचान गरी प्रहरीले पक्राउ गरेको थियो। पक्राउ परेका दुवै जनाले हत्या स्वीकार गरेका छन्।
पक्राउ परेकाहरुले बाँसको भाभटाले टाउकामा हानेर हत्या गरेको बयान दिएका छन्। उनीहरुले हत्यामा प्रयोग गरेको बाँस पनि फेला परेको छ। पक्राउ परेका दुवै जना १८ वर्षमुनिका रहेकाले उनीहरुको नाम सार्वजनिक गरिएको छैन।
मन्दिर अगाडि बसिरहेको अवस्थामा मृतक युवकले विना कारण थप्पड हानेपछि आफूहरुले पनि बाँसको भाडाले हानेको पक्राउ परेका किशोरहरूको भनाइ छ। उनीहरुलाई हनुमानढोकास्थित एक घरबाट प्रहरीले पक्राउ गरेको हो।
पक्राउ परेकाहरुविरुद्ध कर्तव्य ज्यानको कसुरमा म्याद लिएर अनुसन्धान गर्ने प्रहरीको तयारी छ।


