नयाँदिल्ली- भारतीय जनता पार्टी (भाजपा)की विधायक रेखा गुप्ताले बिहीबार दिल्लीको मुख्यमन्त्री पदको शपथ ग्रहण गरेकी छन्।
दिल्लीको रामलीला मैदानमा आयोजित एक समारोहमा दिल्लीका उपराज्यपाल विनय कुमार सक्सेनाले गुप्तालाई पद तथा गोपनीयताको शपथ दिलाएका हुन्।
प्रधानमन्त्री नरेन्द्र मोदी, संघीय गृहमन्त्री अमित शाह, युनियन मन्त्री जेपी नड्डा, रक्षामन्त्री राजनाथ सिंहलगायत भारतीय जनता पार्टीका शीर्ष नेता, अन्य राज्यका मुख्यमन्त्री र उपमुख्यमन्त्रीको उपस्थितमा रेखाले शपथ लिएकी हुन्।
समारोहमा मुख्यमन्त्री गुप्ताले सपथ ग्रहण गरेसँगै उनको मन्त्रीमण्डलमा भाजपाका प्रवेश वर्मा, मनजिन्दर सिंह सिरसा, रविन्द्र इन्द्रराज सिंह, आशिष सूद, कपिल मिश्रा र पंकज कुमार सिंहले मन्त्रीपदको सपथ लिए।
राष्ट्रपति द्रोपदी मुर्मूले राजपत्रमा प्रकाशन गरेको सूचनामा भनिएको छ, ‘गुप्तालाई सङ्घीय राजधानी क्षेत्र दिल्लीको मुख्यमन्त्रीको रूपमा नियुक्त हुनुभएको छ। मैले उहाँलाई दिल्लीको जिम्मेवारी सुम्पिन पाउँदा निकै खुशी लागेको छ। नियुक्ति शपथ लिएको मितिदेखि लागू हुनेछ।’
७० सदस्यीय दिल्ली विधानसभामा भाजपाले ४८ सिट जितेको छ।
सांसद रेखा गुप्ताले यो ‘चमत्कार’ र ‘नयाँ अध्याय’ भएको र यसले राजनीतिमा महिलाका लागि परिवर्तनकारी अध्यायको सुरुवात गरेको बताइन्। शपथ लिएपछि पत्रकारसँग कुरा गर्दै गुप्ताले भ्रष्टाचारीलाई जवाफदेही बनाउने प्रतिबद्धता व्यक्त गर्दै हरेक रुपैयाँको दुरुपयोगप्रति जवाफदेही हुनुपर्ने उनको भनाइ छ।
‘यो एक प्रकारको चमत्कार हो। यो एक नयाँ प्रेरणा र नयाँ अध्याय हो। यदि म मुख्यमन्त्री बन्न सक्छु भने यसको अर्थ सबै महिलाका लागि बाटो खुला छ,’ उनले भनिन्।
आफ्नो नेतृत्वमा रहने सरकारले जो कोही भ्रष्टाचारी भए पनि एक–एक रुपैयाँको हिसाब किताब माग्ने बताइन्। ‘यो ठूलो जिम्मेवारी हो । ममाथि विश्वास गरेको प्रधानमन्त्री मोदी र भाजपाको उच्च नेतृत्वलाई धन्यवाद दिन चाहन्छु,’ उनले भनिन्, ‘मैले आफ्नो नेतृत्वको जिम्मेदारीको पूरा ईमानदारीका साथ पूरा गर्नेछु। मेरो पहिलो प्राथमिकता हाम्रो पार्टीले गरेका सबै प्रतिबद्धताहरू पूरा गर्नु हो र दोस्रो प्राथमिकता भनेको हाम्रा सबै ४८ विधायकहरूले टीम मोदीको रूपमा काम गर्नेछन्।’
यसअघि, भारतीय जनता पार्टी (भाजपा) का नवनिर्वाचित विधायकहरूको बैठकले रेखा गुप्तालाई विधायक दलको नेतामा चयन गरेको थियो।
यसैबीच, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गुप्ताको तल्लो तहको देखि महत्वपूर्ण राजनीतिदेखि मुख्यमन्त्री पदसम्मको यात्राबारे प्रकाश पार्दै उहाँको नेतृत्वमाथि विश्वास व्यक्त गरे।
‘गुप्ताजीलाई दिल्लीको मुख्यमन्त्री को रूपमा शपथ लिनुभएकोमा बधाई । उहाँ क्याम्पसको राजनीति, राज्य सङ्गठन, नगरपालिका प्रशासन र अहिले विधायक र मुख्यमन्त्रीमा सक्रिय हुनुहुन्छ। मलाई विश्वास छ, उहाँले दिल्लीको विकासका लागि पूर्ण उत्साहका साथ काम गर्नुहुनेछ । फलदायी कार्यकालका लागि उहाँलाई मेरो शुभकामना,’ उनले भनेका छन्।
रेखाले बुधवारै पदभार पनि गरेकी छन्।


