काठमाडौँ- नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओली नेतृत्वको सरकारले देशमा तानाशाह लाद्ने कुचेष्टा गरिरहेको बताएका छन्। केन्द्रीय कमिटीको दोस्रो बैठकलाई सम्बोधन गर्दै सरकारले उनले यस्तो बताएका हुन्।
ओली सरकारले साना र विरोधी पार्टीलाई समाप्त पार्ने षड्यन्त्र गरिरहेको आरोप लगाउँदै आलोचकको घाँटी निमोठ्न अग्रसर भएको उनको भनाइ थियो। ‘विधिविधान मिच्ने र आफूप्रति आलोचक कोही छन् भने तिनीहरुको घाँटी निमोठ्ने काममा अग्रसर भइरहेका छन्,’ उनले भने।
प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीतर्फ लक्षित गर्दै नेपालले संविधानलाई मिच्ने बानी परेकाहरू कानुन मिच्न पनि त्यतिकै अग्रसर भएको बताए।
‘अहिलेको सरकार बहुदलीय मान्यतालाई चुनौती दिँदै दुई दलीय शासनको सोचलाई अगाडि बढाउन खोज्दैछ। दुई दलीयको नाममा एकदलीय तानाशाह लाद्ने साेंच भन्दा भिन्न छैन’, अध्यक्ष नेपालले भने, ‘स–साना र प्रतिद्वन्द्वी पार्टीहरूलाई समाप्त पार्ने र अनेक किसिमले नियन्त्रणका तौरतरिका अपनाएर सिंगो देशमा तानाशाह लाद्ने कुचेष्टा भइरहेको छ।’


