विराटनगर- ८ हजार १ सय अमेरिकी डलरसहित १ जना विराटनगरबाट पक्राउ परेका छन्।
विराटनगर विमानस्थल हुँदै काठमाडौँ जान लागेका सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–५ का ३४ वर्षीय नौसाद अन्सारी पक्राउ परेका हुन्।
मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाका अनुसार अन्सारीलाई विराटनगर महानगरपालिका–४ स्थित विमानस्थलबाट शुक्रबार राति ८ बजेतिर पक्राउ गरिएको हो।
उनी यती एयरलाइन्सको जहाजबाट काठमाडौँ जाने तयारीमा थिए। प्रहरी वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सई) श्याम सुवेदी नेतृत्वको टोलीले चेकजाँच गर्दा अन्सारीले लगाएको कोटको गोजीभित्र अमेरिकी डलर फेला परेको थियो।
उनको साथबाट १ सय दरका ८१ थान डलर बरामद भएको एसपी चिमरियाले बताए। अवैध रूपमा बोकेको अमेरिकी डलरसहित अन्सारीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। अन्सारीले कुन बैंकबाट डलर साटेका हुन् भनेर खुलाउन सकेनन्।
स्रोत खुलाउन नसकेपछि नियन्त्रणमा लिएर अनुसन्धानको दायरामा ल्याइएको जानकारी चिमरियाले दिए।
अन्सारीले आफू केही समय अघिसम्म कतारमा बस्ने गरेको बताए। कतारमा बस्ने र नेपाल आउनेजाने गरेको उनको भनाइ छ। अहिले भने साथीको आफन्त बिरामी भएर काठमाडौँ जान लागेको बताएका छन्।
अवैध रूपमा बोकेको डलरसहित पक्राउ परेका अन्सारीलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाउने तयारी भइरहेको जानकारी एसपी चिमरियाले दिए।


