काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतान्त्रिक प्रणालीका संरचनात्मक पक्षलाई हेरफेर र सुधार गर्न सकिने बताएका छन्।
पत्नी राधिका शाक्यको किताब ‘करुणा’ लोकार्पण गर्दै प्रधानमन्त्री ओलीले संविधानमा उल्लेख भएको आधारभूत पक्षबाहेक अन्य संरचनात्मक पक्षलाई हेरफेर गर्न सकिने बताएका हुन्।
मुलुक र जनताको आवश्यकताका आधारमा ७ प्रदेशलाई ५ वटा वा ९ वटा पनि बनाउन सकिने उनको भनाइ छ। तर प्रदेशको संख्या थपघट हुँदा रूवाबासी गर्न जरुरी नभएको बताए।
‘खुसीको कुरा मैले आफ्नै जीवनकालमा लोकतान्त्रिक गणतन्त्र देखें। त्यतिबेला मेरो माग संघीयता थिएन। २००७, २००४६ र ०६२/६३ को आन्दोलनमा संघीयताको माग थिएन। यस्तो कुरा गर्दा मलाई संघीयता विरोधी पनि भन्छन्,’ उनले भने, ‘अहिलेको ७ वटा प्रदेश ९ वटा वा ५ वटा पनि हुन सक्छ। कुनै रुवाबासी गर्नु आवश्यक छैन। देश र जनताको आवश्यकताअनुसार प्रदेश बन्ने हो।’
जेलबाट पैदल निस्किएको कैदी प्रधानमन्त्री बन्ने भन्दै अन्डरमाइन गर्न नहुने उनको भनाइ छ। ‘लोकतन्त्रका लागि हामीले गरेको त्यागलाई अन्डरमाइन गर्छन्। त्यो राम्रो होइन,’ उनले भने।
