काठमाडौँ- काठमाडौँ महानगरपालिकाले १० प्रतिशत शय्या असहाय व्यक्तिलाई छुट्याउन निर्देशन दिएको छ। कुल शय्याको १० प्रतिशत शय्या विपन्न, असहाय, बेवारिसे बिरामीका लागि छुट्याएर निःशुल्क उपचार नगर्ने निजी अस्पताललाई काठमाडौँ महानगरपालिकाले कारबाही गर्ने चेतावनी दिएको हो। त्यसको विवरण अनिवार्य रुपमा हरेक महिनाको १० गतेभित्र महानगरमा बुझाइसक्नसमेत मेयर बालेन्द्र साहले निर्देशन दिएका छन्।
‘स्वास्थ्य संस्था सञ्चालन मापदण्ड २०७७, परिच्छेद २४ दफा ७० (घ) मा अस्पतालमा उपचारका लागि आउने विपन्न, असहाय, बेवारिसे बिरामीका लागि कुल शैयाको दश प्रतिशत शय्या छुट्याई निःशुल्क उपचार गर्नुपर्ने अनिवार्य व्यवस्था छ,’ प्रमुख साहले भने, ‘यस व्यवस्थाबमोजिम अतिरिक्त लक्षित वर्गका विरामीले निःशुल्क सेवा लिएको विवरण टाँस गर्न आग्रह गर्दछु। यो विवरण प्रत्येक महिनाको १० गतेसम्म महानगरमा पठाउनु पर्नेछ। यसरी विवरण नपठाए काठमाडौँ महानगरपालिकाबाट नियमानुसार कारवाही हुनेछ।’
महानगरपालिका क्षेत्रभित्रका केन्द्र, प्रादेशिक स्थानीय सबै प्रकृतिका स्वास्थ्य संस्थालाई उक्त निर्देशन दिएका हुन्। निजी अस्पताल एवं स्वास्थ्य संस्थाहरूले स्वास्थ्यजन्य फोहोरमैला व्यवस्थापन गर्ने अस्पताल भित्र रहेका क्यान्टिनमा खाद्य गुणस्तर कायम गर्ने, अनावश्यक प्रयोगशाला परीक्षणको लागि सिफारिस नगर्न पनि महानगर अन्तर्गतको स्वास्थ्य विभागले जारी गरेको सूचनामा उल्लेख गरिएको छ।
