काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यबहाक सभापति डोलप्रसाद अर्यालले राज्यको उच्च तहमा पुगेका नेता तथा व्यक्तिहरुको सम्पत्ति छानबिनका उच्चस्तरीय आयोग बनाउन माग गरेका छन्।
आइतबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै अर्यालले प्रधानमन्त्रीले आफू पनि भ्रष्टाचार नगर्ने र गर्न नदिने बताउँदै आएकाले राज्यको उच्च निकाय पुगेका सबैको सम्पत्ति छानबिनका लागि उच्चस्तरीय शक्तिशाली छानबिन आयोग बनाउन माग गरेका हुन्।
वर्तमान प्रधानमन्त्रीले आफ्नो र सत्तारुढ दलका नेतामाथि लाग्दै आएको आरोपको छानविनका लागि मार्गप्रशस्त गर्ने हिम्मत देखाउन समेत उनको सुझाव थियो।
संसदबाट प्रश्न उठेपछि आफ्ना सभापति रवि लामिछानेमाथि छानबिन गर्न तयार भएको र अहिले कानूनी लडाई लडिरहेको भन्दै उनले सरकार र सदनसमेत अन्य नेताको छानबिनका लागि तयार हुनुपर्ने बताए।
सहकारी प्रकरणमा दुई दलको दम्भले नभई नीति र विधिमार्फत छानविन हुनुपर्ने उनको भनाइ छ।


