काठमाडौँ- नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले पार्टी निर्माणका लागि नेतृत्व टिमले आफूलाई बदल्नुपर्ने बताएका छन्।
सोमबार झापाको कचनकवलमा तराई-मधेश जागरण अभियानलाई सम्बोधन गर्दै उनले देशलाई बदल्न पहिला नेतृत्व टिम रूपान्तरण हुनुपर्ने बताएका हुन्।
‘माओवादी नेतृत्व टिमले आफूले आफैलाई बदल्नु छ। रूपान्तरण हुन नसके हामीले जनताको आवाज पुरा गर्न सक्दैनौँ। आज संविधानले दिएको मौलिक हक स्वास्थ्य, शिक्षा, रोजगारी जस्ता सेवा जनताले पाउन सकेका छैनन्। त्यसलाई पुरा गर्न नेतृत्व टिम बदलिनुपर्छ। फेरि त्यागको भावना देखाउनुपर्छ। लोभ मोहमा फस्ने हो भने सक्दैन,’ उनले भने, ‘शान्ति प्रक्रियामा आएको १८ वर्षमा हामी अलमलियौँ। वैचारिक अस्पष्टता भयो। कहिले विद्रोह भन्यौँ। कहिले चुनाव भन्यौँ। माओवादीलाई एकताबद्ध गरी कुनै आग्रह वा पूर्वाग्रह नराखी सबैलाई समानुपातिक समावेशी पार्टी निर्माण गरी सक्षम, बलियो पार्टी निर्माण र नेतृत्व आजको आवश्यकता हो। यो सर्त पूरा नभई अब पार्टी अगाडि जान सक्दैन।’
समाजवादको आधार तयार गर्न जनताले चाहेको चुनेको पार्टी निर्माण गर्नुपर्ने दिशामा लैजान महाधिवेशनसम्म पुग्नुपर्छ भन्ने दिशामा पुगेको शर्माले स्पष्ट पारे।
त्यागको शिक्षा लिन हामी जनतामा आएको स्पष्ट पार्दै उनले लोकतन्त्रलाई पार्टीभित्र स्थापित गर्दै आम जनताको लोकतन्त्रलाई नेतृत्व गर्ने क्षमतासहित पार्टी निर्माणमा उनले जोड दिए। साथै केपी ओली सरकारको गतिहीनता, भ्रष्टाचारी रवैया र नोकरशाहीतन्त्रको रवैयालाई भण्डाफोर गर्दै अगाडि बढ्नुपर्ने शर्माले बताए।
‘चाहे अध्यादेश वा संविधान संशोधनको नाममा होस् वा दलाल नोकरशाहीको सेवामा भएका काम होस् त्यसको भण्डाफोर गर्न हामी जनतामा आएका हौँ’, उनले भने।
