विराटनगर – आफ्नो पार्टीको कार्यक्रमका लागि चार वटा विद्यालयको पठनपाठन बन्द गराएर कार्यक्रम गर्न नेकपा माओवादी केन्द्रले दबाब दिएको छ।
तराई–मधेश जागरण अभियानअन्तर्गत मंगलबार मोरङमा माओवादीले कार्यक्रम गर्दै छ। उक्त कार्यक्रमका लागि कानेपोखरी गाउँपालिकाका विभिन्न चार वटा विद्यालय बन्द गर्न माओवादीले दबाब दिएको हो ।
माओवादी केन्द्र कानेपोखरीले विद्यालयलाई पत्र नै पठाएर पठनपाठन बन्द गर्न भनेको हो। माओवादी केन्द्रले पल एकेडेमी, बालजगत इङ्लिस बोर्डिङ स्कुल, माउन्ट हर्मोन एकेडेमी र जेनिथ इङ्लिस बोर्डिङ स्कुललाई १३ गते एक दिन पठनपाठन बन्द गर्न भनेको हो।
पार्टी गाउँ कमिटीअध्यक्ष दुर्गाबहादुर कार्कीले फागुन ८ गतेको मितिमा विद्यालयहरूलाई पठाएको पत्रमा गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल , नारायणकाजी श्रेष्ठलगायतका नेताको उपस्थितिमा बृहत् जनसभा कार्यक्रम आयोजना हुने भएकाले विद्यालय बन्द गरिदिन भनेका हुन्।

पत्रमा लेखिएको छ- मङ्गलबार कानेपोखरी–६ मा आयोजना हुने बृहत जनसभा ९ देखि १ बजेसम्म हुने भएकाले सवारीसाधनको चाप अत्यधिक हुने र उच्च ध्वनि भएका उपकरणहरुको प्रयोगका कारण विद्यार्थीमा ध्वनि प्रदूषण हुने भएकाले विद्यालय बिदा गरी कार्यक्रममा आवश्यक सहयोग गरिदिनु हुन हार्दिक अनुरोध छ।
विद्यालयलाई गरिएको पत्रमा कानेपोखरी–६ रमाइलोमा बृहत जनसभा ९ देखि १ बजेसम्म हुने भएकाले सवारीसाधनको चाप अत्याधिक हुने र उच्च ध्वनि भएका उपकरणहरूको प्रयोगका कारण विद्यार्थीमा ध्वनि प्रदूषण हुने भएकाले विद्यालय बिदा गरी कार्यक्रममा आवश्यक सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गरिएको छ। अर्कोतर्फ, खबरदारी सभाका लागि रंगेली–कानेपोखरी सडक ढाकेर मञ्च निर्माण गरिएको छ।



