काठमाडौँ- केपी ओली कपको एपीएफ र संकटाबीचको खेलमा विवाद भएको छ।
रेफ्रीले रातो कार्ड देखाएको भन्दै संकटाका खेलाडीले रेफ्री ज्ञानबहादुर तामाङमाथि हातपातको प्रयास गरेका हुन्।
एपीएफका एलिक श्रेष्ठलाई संकटाका ओवोसु बोटेङले हात हालेपछि रेफ्री ज्ञानबहादुर तामाङले सिधै रातो कार्ड देखाएका थिए।
पछि संकटाका अन्य विदेशी खेलाडीले रेफ्री तामाङलाई हातपात गर्न खोजे।
त्यसपछि संकटाका कप्तान दीप कार्कीलगायतले विदेशी खेलाडीलाई छुटाएका थिए।
खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई पेनाल्टी सुटआउटमा हराउँदै सङ्कटा क्लब केपी ओली कप फुटबलको सेमिफाइनलमा पुगेको छ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कम्प्लेक्सको मैदान सातदोबाटोमा भएको खेलमा सङ्कटाले एपीएफलाई पेनाल्टी शुटआउटमा ५–३ गोलले हरायो। निर्धारित ९० मिनेटको समयमा गोलरहित बराबरी भएपछि खेल पेनाल्टी शुटआउटमा पुगेको थियो।
प्रतियोगितामा अहिले मच्छिन्द्र क्लब र भुटानको एफसी ट्रान्सपोर्ट युनाइटेड खेलिरहेका छन्।
प्रतियोगिताको विजेताले १५ लाख ११ हजार १ सय ११ र दोस्रो हुने टोलीले ५ लाख रुपैयाँ प्राप्त गर्ने आयोजक राष्ट्रिय युवा सङ्घ नेपालले जनाएको छ। फाइनल खेल यही १९ गते हुनेछ।


















