काठमाडौँ- बागमती प्रदेशका सहकारी तथा गरिबी निवारणमन्त्री मदुकुमार श्रेष्ठका स्वकीय सचिव रवि थापाको उपचारको क्रममा मृत्यु भएको छ।
कलंकीस्थित सहिद मेमोरियल अस्पतालमा उपचारको क्रममा थापाको सोमबार राति मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहोराले जानकारी दिए।
धादिङको धुनीबेँशी नगरपालिका-९ घर भएका ३६ वर्षीय थापा कलंकीस्थित साथीको कोठामा अचेत भेटिएका थिए। उनले विष सेवन गरेको प्रहरीको आशंका छ।
कलंकीमा भाडाको कोठा बस्दै आएका शिव कुँवरको कोठामा थापा अचेत भेटिएका हुन्। थापा पनि धादिङ धुनीबेसी नगरपालिकाकै स्थायी बासिन्दा हुन्।
अचेत अवस्थाका थापाको साथबाट एक पेजको पत्रसमेत भेटिएको छ। पत्रमा सहकारीको पैसा लेनदेनको विषयमा आफूलाई जोडिएको र त्यसले आफ्नो बेइज्जत भएको उल्लेख भएको प्रहरीको भनाइ छ।
सुमेरु सहकारीका विषयमा गत आइतबार एक अडियो सार्वजनिक भएको थियो। अडियोमा थापाको नाम पनि उल्लेख थियो। सुमेरु सहकारीका पूर्वसचिव विनोद आचार्यसँग सहकारीको समस्या मिलाउने विषयमा कुराकानी भएको भनिएको अडियो क्लिप सार्वजनिक भएको छ।
घटनाको विषयमा अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ।
थापाको शव टिचिङ अस्पतालमा राखिएको छ। सुमेरु सहकारी पुस २८ गते समस्याग्रस्त सहकारी घोषित भएको थियो।


