काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेपाली कांग्रेस र एमालेलाई माओवादीले नै ठूला दल बनाएको दाबी गरेका छन्। विराटनगरमा पत्रकारसँग कुरा गर्दै उनले कांग्रेस-एमाले आफैँ ठूला नभएको तर माओवादीले उनीहरूलाई ठूला दल बनाइदिएको दाबी गरेका हुन्।
‘कांग्रेस र एमालेलाई पछिल्लो समय ठूलो पार्टी बनाउन सहयोग गरेको माओवादीले हो। देशको आवश्यकता अनुसार समझदारीबाट जाऔँ भन्ने जिम्मेवारी बोधका कारणले हामीले उनीहरुलाई ठूलो बनाएको हो। उनीहरु आफैं ठूलो भएका होइनन्’, उनले अघि भने, ‘जब हामीले छौड्यौँ उनीहरु ठूलो हुन पनि छोडे।’
माओवादीले साथ छोडेपछि कांग्रेस-एमाले खस्किएको कुरा गत उपचुनावले पनि देखाएको उनको भनाइ थियो। ‘उपचुनाव त यहाँ धेरै ठाउँमा भएको थियो। ग्रामथान मात्रै त होइन। ८ ठाउँमा चुनाव भयो हामी एक नम्बर पार्टी भयौँ,’ उनले भने, ‘अघिल्लो रेकर्ड मात्र हेरेर हुन्छ?’
आफू प्रधानमन्त्री भएका बेला सुशासनको अभियान चलाएकै कारण भ्रष्टाचारीहरुले आफ्नो सरकार ढालेको उनको टिप्पणी छ।


