क्यालिफोर्निया – अमेरिकाको नर्दन क्यालिफोर्नियामा नेपाली सामुदायिक भवन स्थापना भएको छ ।
अमेरिका बसोबास गरिरहेका नेपालीको सबैभन्दा पुरानोमध्ये एक संस्था नेपाली एसोसियसन अफ नर्दन क्यालिफोर्निया (न्यान्स) ले चन्दा संकलन गरी उक्त भवन खरीद गरेको हो।
बेएरियाको रिचमण्ड सिटी ३६९ चेल्सी एभिन्युमा रहेको रिलिजिएस प्रोपर्टीलाई १८ लाख ६० हजारमा लिएको न्यासले जानकारी दिएको हो।
गत अक्टोबरमा अफर परेपछि न्यान्सले नोभेम्बरदेखि विभिन्न माध्यमबाट अभियान नै जुटाएर सहयोग उठाएको थियो।
भवनका लागि नेपाली समुदायका झण्डै ५ सय व्यक्ति एवं संस्थाबाट करिब ७ लाख डलर संकलन भएको जनाइएको छ। त्यस्तै न्यान्यले अघिल्ला अभियानमा संकलन गरेको र खातामा रहेको ९५ हजार डलर, समुदायकै सदस्यबाट सापटी लिएको १ लाख ८० हजार डलरमा उक्त भवन सखारेको हो।

उक्त प्रोपर्टीको ४५ प्रतिशत डाउनपेमेन्ट र बाँकी रकम बैंक ऋणबाट भवन खरिद गरिएको न्यासले जनाएको छ।
भवन करिब १० हजार ८ सय स्क्वायरफिट क्षेत्रफलमा फैलिएको छ। यसमा ५४ हजार स्क्वायरफिटको पार्किङ रहेको छ। भवनभित्र ५ सय २८ सिट क्षमताको सभाकक्ष, २ सय सिटको क्याफ्टेरिया, ६ वटा अफिस कोठा, ११० भन्दा बढी गाडी पार्किङ र थुपै शौचालय रहेका न्यासले जनाएको छ।
करिब ७० हजार नेपाली बसोबास रहेको नर्दन क्षेत्रमा आफ्नै सामुदायिक भवन भएपछि विभिन्न चाडपर्व एवं धर्म, संस्कृति अनुसारका सामाजिक सांस्कृतिक कार्यक्रम गर्न सहज हुने विश्वास लिइएको छ।
यसले नेपालीभाषी र नेपाली विभिन्न जातजाति भाषा, संस्कृति र परम्परा मान्ने सदस्यबीच भावनात्मक एकता अझै प्रगाढ पार्ने न्यासको विश्वास छ।
संस्थाले लिएको सापटी फिर्तासहित बैंक ऋणसमेत तिरेर छिट्टै भवन पेडअफ गर्ने योजनामा रहेको न्यासको भनाइ छ।
