काठमाडौँ- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिव सिफारिस सूचीको पहिलो नम्बरमा डा संगीता कौशल मिश्र परेकी छन्। डा विकास देवकोटा र डा टंक बराकोटी क्रमश: दोस्रो र तेस्रो नम्बरमा सिफारिस भएका छन्।
समितिका एक सदस्यका अनुसार ज्येष्ठता र कार्य सम्पादन मूल्यांकनका आधारमा नाम सिफारिस भएको हो।
मिश्र २०७९ असार २३ गते १२औं तह (अतिरिक्त सचिव) मा बढुवा भएकी हुन्। डा. विकास र डा. टंक २०७९ चैत १२ गते १२औं तहमा पुगेका थिए। १२औँ तहमा सबैभन्दा पहिले बढुवा भएको र कार्य सम्पादनमा पनि डा. संगीता अघि परेकाले उनलाई आगामी सचिव बनाउने सूचीको पहिलो नम्बरमा परेको स्रोतको भनाइ छ।
डा. संगीताले २०७० असोज १० गते खुल्ला प्रतिस्पर्धाबाट ११औं तहमा नाम निकालेकी थिइन्। उनले कोराना महामारीमा कोशी अस्पताल व्यवस्थापन चुस्त पार्न सकेको भन्दै प्रशंसा भएको थियो। पछि उनी परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल (प्रसूतिगृह)को नेतृत्वमा आएकी थिइन्।
उनले नेपालमा पहिलो पटक ‘ह्युमन मिल्क बैंक’को स्थापना गर्न भूमिका खेलिन्। मन्त्रालयको प्रवक्ता र स्वास्थ्य सेवा विभागमा महानिर्देशक भएर काम गरेको अनुभव पनि उनले लिएकी छन्।
२०५३ सालमा स्वास्थ्य सेवामा प्रवेश गरेको डा देवकोटाले पनि मन्त्रालयको प्रवक्ता र विभागको महानिर्देशकको अनुभव लिइसकेका छन्। डा टंक २०५६ सालमा सार्वजनिक सेवामा आएका हुन्।
मिश्र र देवकोटा कांग्रेस निकट मानिँदा बाराकोटी एमाले नजिक मानिन्छन्। बाराकोटी र प्रधानमन्त्री केपी शर्मा ओली दुवैको गृहजिल्ला झापा हो।
स्वास्थ्य सचिव डा रोशन पोखरेलले फागुन १२ गते पाँच वर्षे कार्यकाल पूरा गरी अवकाश पाएकाले अब बिहीवार बस्ने मन्त्रिपरिषद् बैठकले नयाँ सचिव नियुक्तिको निर्णय गर्ने अपेक्षा गरिएको छ।
लोक सेवा आयोगका अध्यक्ष माधव रेग्मी, अध्यक्षले तोकेको आयोगका सदस्य, मुख्यसचिव एकनारायण अर्याल र विज्ञ पूर्वस्वास्थ्य सचिव डा. किरण रेग्मी सदस्य र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव रविलाल पन्थ सदस्यसचिव रहेको समितिले स्वास्थ्य सचिव सिफारिसको काम गरेको हो।


