विराटनगर- विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)का विद्यार्थीबीच झडप भएको छ।
बिहीबार बिहान झडप भएको झडपमा परेर नेविसंघ केन्द्रीय सदस्य र मोरङ जिल्ला सभापतिसहित ३ जना घाइते भएका छन्।
शेरबहादुर देउवा र डा.शेखर कोइराला पक्षधर विद्यार्थीबीच बिहान करिब १० बजेतिर झडप भएको हो।
झडपमा महेन्द्र मोरङ क्याम्पसमै अध्ययनरत नेविसंघ केन्द्रीय सदस्य पूजा विश्वास, नेविसंघ मोरङका जिल्ला सभापति सरोज पोखरेल र सचिव गुड्डु साह घाइते भएका छन्। घाइते तीनै जना कोइराला पक्षका हुन्।
घाइते साह र विश्वासको अवस्था सामान्य छ। पोखरेललाई उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल लगिएको केन्द्रीय सदस्य विश्वासले बताइन्।
महेन्द्र मोरङका स्ववियु (स्वतन्त्र विद्यार्थी युनियन) सभापति जसवन्त पौडेलसहितको समूहले कोइराला खेमाका विद्यार्थीमाथि आक्रमण गरेको हो।
‘सुरुमा मुक्का प्रहार गरियो । त्यसपछि बञ्चरो लिएर आक्रमण गरियो,’ विश्वासको भनाइ छ।
स्ववियु चुनावलाई लक्षित गरेर क्याम्पसको वस्तुस्थिति बुझ्न आउँदा सांघातिक हमला भएको विश्वासको जिकिर छ।
स्ववियु सभापति पौडेलले भने बिना जानकारी क्याम्पसमा नेविसंघको नयाँ इकाई गठन गर्न खोजिएपछि विवाद भएको दाबी गरेका छन्।


