सप्तरी – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले बिचौलियाको साँठगाँठ गरेर मलको कृत्रिम अभाव सिर्जना गरिएको आरोप लगाएका छन् ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका-८ आज आयोजित भेटघाट कार्यक्रममा भने, ‘हाम्रो नेतृत्वको सरकार हुँदासम्म मलखादको समस्या हुन दिइएको थिएन । मूलभूत रुपमा मलखादको समस्या हल गरिएको थियो, जतिबेलासम्म हाम्रो सरकार थियो’, उनले भने, ‘तर अहिले कांग्रेस–एमालेको सरकार बनिसकेपछि मलको समस्या ठूलो समस्याको रुपमा खासगरी तराई मधेशभरि र अन्यत्र पनि देखिएको छ ।’
सरकार र बिचौलियाको सेटिङले किसानलाई मर्कामा पारेको र त्यहाँबाट नाफा लिने उद्देश्य लिएको उनले आरोप लगाए।
प्रचण्डसँग स्थानीयले मलखाद, बिजुली, सिँचाइजस्ता समस्या सुनाएका थिए। त्यस क्रममा प्रचण्डले ऊर्जा मन्त्रालयसँग कुरा गरेर विद्युत् र सिँचाइको समस्या समाधान गर्ने आश्वासनसमेत दिएका थिए।
