काठमाडौँ- परराष्ट्रमन्त्री आरजु राणा देउवाले हमासको नियन्त्रणमा रहेका नेपाली युवा विपीन जोशीको अवस्थाबारे यथार्थ जानकारी प्राप्त हुन नसकेको बताएकी छन्।
संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदको ५८औँ उच्चस्तरीय सत्रमा भाग लिई शुक्रबार स्वदेश फर्किएकी मन्त्री देउवाले यस्तो बताएकी हुन्।
त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री राणाले भनिन्, ‘विपीन जोशीको यथार्थ जानकारी प्राप्त हुन नसके पनि रिहाइका लागि पहल भइरहेको छ।’
हमासको कब्जामा नेपाली रहेको भए रिहाइका हुने आश्वासन अन्तर्राष्ट्रिय जगतबाट पाएको उनले बताइन्।
त्यस्तै उनले उच्चस्तरीय सत्रमा नेपाललाई मानवअधिकार परिषदको सदस्यमा मत दिन आग्रह गरिएको पनि उनले बताइन्।
मानवअधिकारको रक्षा र प्रवर्द्धनमा नेपालको प्रतिबद्धताका विषयमा जानकारी गराइएको उनले बताइन्। उनले जेनेभामा रहँदा विभिन्न देशका विदेशमन्त्रीसँग महत्त्वपूर्ण द्विपक्षीय भेटवार्ता भएको जानकारी दिइन्।
मन्त्री राणा ६ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गत शनिबार जेनेभा पुगेकी थिइन्।


