काठमाडौँ- जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले भूमि अध्यादेश फिर्ता नलिए ‘आन्दोलन’ गर्ने चेतावनी दिएका छन्। सरकार अहिले राष्ट्रिय सभामा रहेका अन्य दलका सांसदहरू किनबेच गरेर अध्यादेश पारित गराउने प्रयासमा लागेको पनि उनको आरोप छ।
शुक्रवार काठमाडौँमा आयोजित एक छलफलमा उनले सरकारले भूमि अध्यादेश फिर्ता लिनुपर्ने बताए। सांसद खरिदबिक्री गरेर पास गराउने काम भए जनताकोमा गएर जनआन्दोलन गर्ने दाबी गरे।
सरकारले भूमिसहित ६ वटा अध्यादेश जारी गरे पनि राष्ट्रिय सभामा बहुमत नपुग्दा पेस हुन सकेको छैन।
जसपाले अन्य पाँच अध्यादेशमा साथ दिने बताए पनि भूमि अध्यादेशको विपक्षमा उभिएको छ। जसपाको साथ नपाई राष्ट्रिय सभामा भूमि अध्यादेश पारित हुने सम्भावना छैन।


