काठमाडौँ– नेकपा एमालेले ताप्लेजुङको पाथीभरामा बन्न लागेको केबलकार निर्माणको प्रकिया अघि बढाउन छलफल गर्ने भएको छ।
आइतबार बसेको पार्टी सचिवालय बैठकले पाथीभरा केबलकारबारे चासो राखेको महासचिव शंकर पोखरेलले जानकारी दिएका हुन्।
‘पाथीभरा केबलकार निर्माणको सन्दर्भमा स्थानीय जनप्रतिनिधि, सरोकारवालासँग विवाद समाधान गर्ने विषयमा बैठकले चासो राखेको छ,’ महासचिव पोखरेलले भने।
केबलकार निर्माणको प्रक्रियालाई अघि बढाउन सहज वातावरण बनाउन सरोकावालासँग छलफल गर्नुपर्ने कुरा पार्टीमा उठेको छ। उक्त विषयमा सम्बन्धित पक्षको ध्यानाकर्षण गर्ने कुरा भएको उनले बताए।


