काठमाडौँ- गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवाबाट एक महिनामा करिब ६ हजार ८ सय यात्रु आवागमन भएको छ।
विमानस्थल कार्यालयका अनुसार सन् २०२५ को फेब्रुअरी महिनामा विमानस्थलबाट ११५ उडान (अवतरणसमेत)बाट ६ हजार ८ सय यात्रु आवागमन भएको विमानस्थल कार्यालयले जानकारी दिएको हो।
कार्यालयका अनुसार फ्लाई दुबईबाट २ हजार ४ सय ३, जजिरा एयरवेजबाट ३ हजार २ सय ६५, थाई एयर एसियाबाट १ हजार ९७ यात्रु आवागमन भएको थियो।
त्यस्तै नेपाल एयरलाइन्सका एक र अन्य १३ चार्टर उडानबाट २ सय ११ यात्रु आवागमन भएको हो।
त्रिभुवन विमानस्थलसँग जोडिएर उडान गर्ने नेपाल एयरलाइन्स र फ्लाई दुबईमा ४ हजार ४० ट्रान्जिट यात्रु रहेको कार्यालयले जनाएको छ।
सन् २०२४ नोभेम्बरमा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सेवा सुरु भएयता २०२५ को फेब्रुअरीमा आवागमन गर्ने यात्रुको संख्या हालसम्मकै उच्च हो।
जनवरीमा १ हजार ३ सय ६५, सन् २०२४ को डिसेम्बरमा ३ हजार ८ सय ७८ र नोभेम्बरमा ४ हजार २ सय ७९ यात्रु आवागमन भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ।
