धनगढी – राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले देशमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री माग गरेका छन्।
राप्रपा सुदूरपश्चिम प्रदेश समितिले आइतबार धनगढीमा आयोजना गरेको भ्रष्टाचार र कुशासनविरुद्धको बृहत् विरोध सभामा उनले भने, ‘पटक–पटक असफल भएकाहरू प्रधानमन्त्री भइराख्ने व्यवस्थाले अवस्था परिवर्तन हुँदैन। प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री भए विज्ञहरूको मन्त्रीमण्डल बन्छ। ज्ञान र क्षमता भएका मान्छे ठाउँमा पुगे विकास हुन्छ।’
विरोध सभामा उनले भने, ‘जनताको अवस्था सुधार गर्न व्यवस्था,परिवर्तन हुनुपर्छ। प्रदेश संरचनाले ठूलो व्ययभार बढेकाले यसलाई खारेज गर्नुपर्छ। प्रदेश संरचनामा हुने खर्च अस्पताल निर्माण,उद्योगधन्दामा लगाउनु पर्छ। जसले रोजगारीको सिर्जना हुन्छ।’
राजनीतिक खिचातानीका कारण देश बर्बाद भइरहेको उनले बताए ।
मन्त्री प्रधानमन्त्री बदलेर मात्रै देश नबन्ने पनि बताए । उनले राष्ट्रिय सभामा पनि विज्ञताका आधारमा सांसद राख्नुपर्ने बताए।


