काठमाडाैँ- भूमिसम्बन्धी अध्यादेश पारित गर्ने विषयबाट सरकार तत्कालका लागि पछि हटेको छ। भूमि अध्यादेशलाई रोकेर बाँकी ५ अध्यादेश भने बुधबार निर्णयार्थ पेस गर्ने तयारी सरकारले गरेको हो।
जनता समाजवादी पार्टी नेपालसँग आइतबार छलफल भएपछि सरकार भूमिसम्बन्धी अध्यादेशलाई तत्कालका लागि रोक्न सरकार तयार भएको हो।
बुधबार (भोलि) बस्ने प्रतिनिधि सभामा ५ अध्यादेश निर्णयार्थ पेस हुने नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले जानकारी दिए।
‘भोलिको संसद् बैठकमा भूमिसम्बन्धी अध्यादेश होल्ड गरेर ५ वटा अध्यादेश निर्णयार्थ पेस हुन्छ,’ उनले भने, ‘५ वटा अध्यादेश भोलि पेस भएर भोलि नै स्वीकृत हुन्छ। जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवसँग सो समझदारी भएको छ।’
बिहीबार ती अध्यादेशलाई राष्ट्रिय सभा बैठकमा निर्णयका लागि पेस गर्ने सरकारको तयारी छ। जसपा, नेपालले भूमि अध्यादेशलाई समर्थन गर्न नसकिने बताएपछि माघ १८ गते कार्यसूचीमा राखेर पनि अध्यादेशहरू स्वीकृत गर्ने प्रक्रियामा लगिएको थिएन।
बुधबारको बैठकमा अनिवार्य उपस्थित हुन र अध्यादेशका पक्षमा मतदान गर्न नेपाली कांग्रेस र नेकपा एमालेले आफ्ना सांसदलाई ह्विप जारी गरेका छन्।
‘फागुन २१ गते १ बजे बस्ने संसदको बैठकमा अध्यादेशहरू स्वीकृतिका लाागि प्रस्तुत हुने हुँदा बैठकमा अनिवार्य उपस्थित भई अन्तिमसम्म रहन यो ह्विप जारी गरिन्छ,’ सांसदलाई पठाइएको सन्देशमा भनिएको छ।
