काठमाडौँ- आधिकारिकता बिना नै अमेरिकामा बसोबास गर्दै आएका ८ नेपालीलाई आज अमेरिकाले विमान चार्टर गरेर नेपाल पठाएको जहाज काठमाडौँ विमानस्थलमा अवतरण गरेको छ।
कागजातविहीन आप्रवासीलाई निष्कासन गर्ने नीति लिएको ट्रम्प प्रशासनले पहिलो पटक ८ नेपालीलाई लिएर काडमाडौँ आएको हो।
अमेरिकी वायुसेवा कम्पनीको ग्रिफोन एयरको सानो विमान आज बिहान ९:५५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने जनाइएको छ।
चार्टर विमान अमेरिकाको न्यु ह्याम्पसर राज्यको पोर्टसमाउथ अन्तर्राष्ट्रिय विमानस्थलबाट आएको हो। अल्बानियाको तिराना अन्तर्राष्ट्रिय विमानस्थलमा त्यहाँका केही नागरिकलाई ओरालेपछि उक्त विमान सोझै काठमाडौँ आएको हो।
ट्रम्प प्रशासनले यसअघि २७ नेपालीलाई अमेरिकाबाट निकाला गरिसकिएको छ। यसअघि भारतका आप्रवासीलाई पनि ट्रम्प सरकारले जहाजमा दिल्ली ल्याएर छोडेको थियो।
डोनाल्ड ट्रम्प दोस्रो पटक राष्ट्रपति भएपछि अमेरिकाले अवैध आप्रवासी निष्कासनलाई तीव्रता दिएको छ।








