काठमाडौँ- काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रायलाई जवाफी पत्र पठाएका छन्।
मन्त्रालयले बुधबार आफ्नो कर्मचारीलाई काम गर्ने वातावरण बनाइदिन आग्रहसहित काठमाडौँ महानगरपालिकालाई पत्राचार गरेसँगै बालेनले पनि बिहीबार प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गर्न नदिने अडानसहितको जवाफी पत्र पठाएका हुन्।
पत्रमा काठमाडौँ टावर सार्वजनिक निजी साझेदारी अवधारणा अन्तर्गतको काठमाडौँ महानगरपालिकाको आफ्नो स्वामित्वको जग्गामा बन्ने बसपार्क सहितको भवन भएको उल्लेख छ।
‘यस्ता परियोजना सञ्चालन व्यवस्थापन गर्ने विषयमा निर्णय गर्ने अधिकार स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ उपदफा (२) (छ) र दफा ९७ तथा काठमाडौँ महानगरपालिका नगर सभाबाट स्वीकृत भएको साझेदारी तथा लगानी ऐन, २०७९ को दफा १७ बमोजिम गठित साझेदारी बोर्ड र नगर कार्यपालिकाको क्षेत्राधिकारको विषय हो,’ बालेनले मन्त्रालयलाई पठाएको पत्रमा भनिएको छ।
यसअघि मन्त्रालयले आफूले प्रमुख प्रशासकीय अधिकृतका रूपमा महानगरपालिकामा खटाएको कर्मचारी सरोज प्रसाद गुरागाईंलाई बालेनले हाजिर गर्न नदिएको गुनासो आएको भन्दै मन्त्रालयले कर्मचारीलाई काम गर्ने वातावरण बनाइदिन आग्रहसहित पत्राचार गरेको थियो।
गुरागाईंले आफूलाई गत पुस ८ गतेदेखि कार्यालयमा हाजिर गर्न नदिएको भन्दै मन्त्रालयसमक्ष लिखित गुनासो गरेका थिए। महानगर प्रमुख बालेनले आफ्नो कार्यकक्षमा ताला लगाई काम गर्न नदिएको तथा अनेक झुटा लाञ्छनाहरू समेत लगाएको भन्दै गुरागाईंले मन्त्रालयमा उजुरी गरेका थिए।
गत भदौ २७ गते प्रमुख प्रशासकीय अधिकृत बनाएर काठमाडौँ महानगरपालिका पठाएको थियो।



