काठमाडौँ- प्रतिनिधि सभा बैठकमा सांसदहरू उपस्थित नदेखिएपछि धेरै कुर्सी रित्ता देखिए।
सत्ता पक्षका केही सांसद उपस्थित भएपनि प्रतिपक्षी लाइनमा अति न्यून संख्यामा मात्र सांसद उपस्थित थिए।
यतिकैमा बैठकमा निकासी पैठारी नियमन विधेयकलाई विचार गरियोस् भन्ने प्रस्तावलाई सभामुख देवराज घिमिरेले निर्णयार्थ प्रस्तुत गरेका थिए।
यसपछि रास्वपा सांसद निशा डाँगीले गणपूरक संख्या यकिन गरेर मात्र कारबाही अघि बढाउन माग गरिन्।
उनले बैठक सुरु हुँदा कुर्सी भरिभराउ हुने र बैठक चल्दै गर्दा सांसदहरूले हाजिर लगाएर जाने गरेको पनि विषय उठान गरेकी थिइन्। उनले कांग्रेस र एमालेका सांसद बैठकमा सहभागी नभएको आरोप लगाए पनि प्रतिपक्षी दलका सांसदको उपस्थितिको संख्या अतिदयनीय देखिएको थियो।
त्यसपछि सभामुख घिमिरेले तीन मिनेटको जनाउ घण्टी बजाएर सचिवालयमार्फत सांसदको संख्या यकीन गर्न लगाए।
नेपालको संविधानको धारा ९४ बमोजिम सदनमा कुनै पनि प्रस्ताव वा विधेयक निर्णयार्थ पेस गर्दा कम्तीमा एक चौथाइ सदस्य उपस्थित हुनुपर्ने व्यवस्था छ।
सभामा हाल कायम सांसदको एकचौथाइ पुग्न ६९ सदस्य उपस्थित हुनुपर्ने थियो। अधिकांश सिट खाली देखिएपनि सभामुखले गन्ती गर्न लगाउँदा ६९ जना नै उपस्थित भएको देखिएको जानकारी सदनलाई गराएका थिए।
त्यसपछि सभामुख घिमिरले प्रतिनिधि सभाको बैठक स्थगन नगरी कारबाही अघि बढाएका थिए। विधेयकमाथिको विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको घोषणा सभामुख देवराज घिमिरेले गरे।
अब अर्को बैठक फागुन २३ गते शुक्रबार दिउँसो १ बजे बस्नेछ।


