काठमाडौँ– स्वास्थ्य मन्त्रालयको सचिव नियुक्त गर्दा वरियता र जेष्ठता मिचिएको भन्दै संसद्मा प्रश्न उठेको छ। शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा रास्वपा सांसद तोसिमा कार्कीले सचिव बढुवा गर्दा सरकारले वरियता मिचेको भन्दै आपत्ति जनाएकी हुन्।
स्वास्थ्य मन्त्रालयको सचिवका लागि डा. संगिता कौशल मिश्रा, डा. टंकप्रसाद बाह्राकोटी र डा. विकास देवकोटाको नाम सिफारिस भएको थियो। बुधबार बसेको मन्त्रीपरिषद्को बैठकले तेस्रो नम्बरमा रहेका डा विकासलाई सचिव बढ्वा गरेको थियो।
महिला पनि भएको र जेष्ठतामा अघि रहेकी संगितालाई सचिव नबनाएर स्वास्थ्यमन्त्री प्रदीप पौडेलले आफू निकट विकासलाई सचिव बढुवा गरेको भन्दै तोसिमाले प्रश्न उठाएकी हुन्।
‘संविधानमा लैङ्गिक समानताको धारा त राख्यौँ तर राज्यले महिलामाथि हेर्ने दृष्टिकोण परिवर्तन हुन सकेन। स्वास्थ्य मन्त्रालयको सचिवका लागि सिफारिस र वरिष्ठताका आधारमा एक नम्बरमा रहेकी डा. संगीता मिश्रलाई पन्छाएर अर्कैलाई सचिव नियुक्ति गरियो। यस्तो किन गरियो,’ उनले भनिन्, ‘पुरुष मन्त्रीले महिला सचिवसँग कामै गर्न नसक्ने हो ? कि महिला नेतृतव स्वीकार नगरिएको हो ? सरकारसँग संसदले जवाफ माग्नुपर्छ।’
उनले महिलालाई सङ्ख्या पुर्याउन मात्र सांसद बनाइने गरिएको बताइन्।
