सुर्खेत- प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णालीका मानिसले महाभारत युद्ध लडेको बताएका छन्।
मध्यपश्चिम विश्वविद्यालयमा आयोजना गरिएको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले कर्णालीका मानिसहरूको लामो इतिहास रहेको बताएका हुन्।
कर्णालीका मानिसहरूले महाभारत युद्ध लड्न गएको पनि उनले बताएका थिए।
‘यहाँका मानिसहरू महाभारतका लडाइँमा गएका थिए। यहाँका मानिसले घुइत्रो हानेपछि जहाँ छोयो, त्यही छेड पार्थे,’ उनले भने, ‘यहाँको सभ्यताको लामो इतिहास छ। हाम्रा पुर्खाहरूले कैलाश पर्वत मानसरोवर नाम राखेका थिए।’
मध्यपश्चिम विश्वविद्यालयका कुलपतिसमेत रहेका ओलीबाट विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहका अवसरमा विभिन्न तह र सङ्कायका तीन हजार आठ सय ४१ विद्यार्थी दीक्षित भएका छन्।
वीरेन्द्रनगरस्थित विश्वविद्यालयको केन्द्रीय कार्यालयमा आयोजित समारोहमा ती विद्यार्थी दीक्षित भएका हुन्।
समारोहमा विज्ञान तथा प्रविधि, व्यवस्थापन, इञ्जिनियरिङ, कानुन, शिक्षाशास्त्र, मानविकी र सामााजिकशास्त्र गरी सबै सङ्कायबाट स्नातक तहका दुई हजार एक सय ८९, स्नातकोत्तर तहका विभिन्न कार्यक्रममा शैक्षिक सफलता हासिल गरेका एक हजार छ सय ६३ र व्यवस्थापन संकायको दर्शनाचार्य पूरा गरेका १९ विद्यार्थी दीक्षित भए।
